मतगणना सम्पन्न हुन नौ दिन लाग्नसक्ने निर्वाचन आयोगको अनुमान

निर्वाचन आयोगले करिव नौं दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समय भित्र सम्पन्न गरिसक्ने योजना रहेको बताए ।

उनले बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुने समेत स्पष्ट पारे । सहायक प्रवक्ता अर्यालले भने, ‘प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ दुवैको मतगणना जारी छ । प्रदेशसभाको पनि एकसाथ प्रत्यक्ष र समानुपातिकका मतगणना हुन्छ । हाम्रो राम्रोसँग सम्पन्न भएका र सही तरिकाले गणना प्रक्रिया अघि बढेका स्थानहरुको मत गणना आयोगले भनेजस्तै अवको ८-९ दिनमा सकिने अनुमान गर्न सक्छौं ।’

मंसीर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । हाल प्रतिनिधिसभाको १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको र ४ स्थानमा मतपरिणाम आईसकेको पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

हाल प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना भईरहेको छ । मतगणना रोकिएको कतिपय स्थानहरुमा भने राजनीतिक सहमती गरेर त्यहाँको मतगणना कार्य सुरु गर्ने पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

उनले भने, ‘देशभरीको गणनाको कुरा गर्दाखेरी अहिलेसम्म प्रविधि शाखामा प्रविष्ट भएको आधारमा १३८ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा गणना भईरहेको छ । कतिपय स्थानमा इन्टरनेटको गडबडीको कारणले मत परिणाम आउन सकेको छैन । यस हिसावले भन्दा केही बढि स्थानहरुमा पनि गणना भईरहेको हुन सक्छ । र, अहिलेसम्म ४ स्थानको मत परिणाम आईसकेको छ । अन्य कतिपय ठाउँहरुमा राजनीतिक दलहरुबीच सहमती गरेर मत गणनाको लागि मिति, स्थान र समय तोक्ने काम हुँदैछ । स्थगन भएको कतिपय ठाउँहरुमा मतगणना कार्य केही समय पर्खनुपर्नेछ । अरु ठाउँमा ठिक गतिका साथ गणना भईरहेको छ । ’

आयोगले सबै क्षेत्रहरुमा मतगणना सुरु भएको मितिले २ दिन भित्र मतगणना गरिसक्ने योजनाका साथ काम गरिरहेको बताएको छ । स्थगन भएका कतिपय स्थानहरुको मत परिणाम भने अझै केही समय पर्खनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *