एमाले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी अगाडि बढ्छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताएका छन्।

प्रतिनिधि सभा र प्रदेश सभाको केही निर्वाचन क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन्।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्ने बताए।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ आफ्नो पार्टी निर्वाचनमा गए पनि सोहीअनुसारको जनादेश प्राप्त हुन नसकेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले प्राप्त जनादेशको सम्मान गर्दै अघि बढ्ने स्पष्ट पारे। उनले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद्, प्रदेश सभाहरूमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

उनले भने, ‘नेकपा (एमाले)ले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढन सक्दैन, देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन सक्दैन, विकास, समृद्धि र सामाजिक न्यायको अभियानले गति प्राप्त गर्न सक्दैन भन्ने कुरा विगतको अनुभवले पनि स्पष्ट गरेको छ। त्यसकारण यो उपलब्ध सिचुएशनमा हामी सकेसम्म मुलुकलाई नेतृत्व प्रदान गर्ने हिसाबले पहलकदमी लिन्छौं। तदनुकूल हाम्रो भूमिका रहन्छ। राष्ट्रलाई अगाडि बढाउने सन्दर्भमा नेकपा एमाले आफ्नो हैसियतअनुरूपको सशक्त र प्रभावकारी भूमिकामा उपस्थित हुनेछ। नेकपा एमालेले मात्रै देशलाई सही दिशामा अघि लैजान सक्छ भन्ने अनुभूति मुलुकले गर्नेगरी हामी संघीय संसद्मा, प्रदेश सभाहरूमा प्रस्तुत हुनेछौं भन्ने म यहाँहरूलाई बताउन चाहन्छु।’

उपाध्यक्ष पौडेलले रूपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरूको समृद्धिका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाए। उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै स्थानीय राजनीतिक पार्टीहरूको सुझाव लिएर अघि बढ्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर