ए डिभिजन लिग समयमै हुनेमा आशंका

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ । महिना दिन बाँकी रहेको अवस्थामा सहभागि हुने क्लवले अहिलेसम्म दर्ता गराएका छैनन् । अघिल्लो संस्करणको वक्यौता रकम बाँकी रहेको अवस्थामा क्लवले सहभागिता जनाउन चाहिरहेका छैनन् । सहभागि हुने क्लवलाई एन्फाले पुस पहिलो साता भित्र क्लव दर्ता गराएर पहिलो किस्ताको तयारी खर्च लिन पत्राचार गरेपनि प्राविधिक हिसावमा भने क्लवहरु तयारी नपुगेको भन्दै चिन्तित छन् । यसले निर्धारित मितिमा नै लिग हुन्छ भन्नेमा अन्योलता भएको छ ।

शहीद स्मारक ए डिभिजन लिग घोषित मितिमा नै गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लवलाई पत्राचार गरिसकेको छ । पुस पहिलो साता भित्र दर्ता गराए लिग तयारी खर्च दिने भनिए पनि क्लवले अघिल्लो संस्करणको लिगको वक्यौता रकम दिन माग राख्दै दर्तालाई विलम्व गरिरहेका छन् । वक्यौता रकम नपाएको भन्दै केही साता अघि मात्र केही अधिकांश क्लवले एन्फामा रकम भुक्तानीको ज्ञापनपत्र बुझाएका थिए । तिनैमध्येको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाबाट पठाएको पत्र अनुसार तयारी खर्च उपलब्ध गराएको अवस्थामा क्लव दर्ता गर्न तयार भएको बताए । सधैं लिग आयोजना गर्दा ठूलो मात्रामा रकम खर्च हुने गरेको र छुट्टयाएको रकम समयमा पाउन नसक्दा क्लव सञ्चालनमा समस्या भएको बताए ।

उनले एन्फा र क्लवबीच डबल लिग, काठमाडौं भन्दा बाहिर लिग आयोजना र कम्तीमा पनि ६ महिना लिग सञ्चालनको अवधि निश्चित भएको खण्डमा मात्रै आफूहरु लिग खेल्न तयार भएको बताए । अध्यक्ष तुलधारले तोकिएको मितिमा लिग हुन प्राविधिक हिसावमा कठिन हुने भएकाले लिग नहुनेमा क्लव चिन्तित भएको बताए ।

एन्फाले भने निर्धारित मितिमा नै लिग सञ्चालनका लागि क्लव दर्ता गर्दै प्रक्रिया पूरा गरेर तयारी खर्च लिनका लागि आह्वान गरेको छ । एन्फाका महासचिव किरण राईले पुरानो वक्यौता भुक्तानीका लागि प्रक्रिया अगाडि बढिसकेको बताए । त्यसका लागि एन्फाले मंसिर २३ सहभागी हुने सबै क्लवलाई पत्राचार गरेको र पुस पहिलो साता भित्र प्रक्रिया पूरा गरे क्लव दर्ता गरेर पहिलो किस्ताको रकम लिन आग्रह गरे । यससँगै लिगको विषयमा रहेको अन्योलता हटेको महासचिव राईले बताए ।

पछिल्लो समय फुटबल गतिविधि नहुँदा खेलाडीहरु विकल्पका बाटो रोजिसकेका छन् । केही खेलाडी व्यवसायिक फुटबलका लागि विदेशीएका छन् भने केही खेलाडीले फरक विधामा भविष्य खोजिरहेका छन् । मोफसलमा आयोजना हुँदै आएका प्रतियोगिता पनि एन्फाको क्यालेण्डरमा आयोजना हुन मुस्किल भइरकेको छ । सोही अवस्थामा विश्वभर फैलिएको कोरोना महामारीले अन्य क्षेत्रमा जस्तै फुटबलमा पनि व्यापक असर गर्‍याे । एन्फामा पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपनि निर्वाचनका बेलामा बाँडिएका एजेण्डा अनुसार फुटबलमा कामले गति लिन सकेको छैन । आफ्नो जीवन नै खेलमा समर्पण गरेका खेलाडीलाई फुटबल गतिविधि नहुँदा कठिन हुँदै गएको छ । मुस्किलले केही महिना मात्र हुने फुटबलले खेलाडीलाई बाँच्न गाह्रो भएको र विकल्पको बाटो रोज्नुपर्ने बाध्यता भएको नेपाली टोलीका पूर्व सदस्य विक्रम लामा बताउँछन् । पूर्व राष्ट्रिय खेलाडी लामाले फुटबलमा जीवनयापन गरीरहेका खेलाडी र फुटबल विकासका लागि घरेलु लिग व्यवस्थित र परिमार्जित हुनुपर्ने माग राखे ।

क्लव र फुटबल संघको विवादले फुटबलको मेरुदण्ड मानिने लिग अहिले दुविधामा छ । फुटबल संघले निर्धारित समयमा नै लिग सञ्चालनको वाचा राखे पनि क्लवको मागले यसलाई दुविधामा पुर्‍याएको हो । यस्तै अवस्थामा खेलाडी लामाले क्लव, खेलाडी र संघले आपसी समझदारीबाट फुटबल सञ्चालनमा ध्यान दिनुपर्ने सुझाव दिए । फुटबलभित्रको समस्या समग्र नेपाली फुटबलको समस्या भएको भन्दै असमझदारीका विषयलाई टुङ्ग्याउँदै फुटबल सुचारु गर्न माग गरे । खेलाडीको अधिकार भनेको फुटबल खेलेर देशको प्रनिधित्व गर्ने भएको भन्दै लामाले स्वच्छ वातावरणमा फुटबल उपलब्ध गराउन जिम्मेवारी निकाकयसमक्ष आग्रह गरे ।

पछिल्लो संस्करणको शहीद स्मारक ए डिभिजन लिग सकिएको झन्डै वर्ष दिन भइसेको छ । यो बीचमा संघमा नयाँ कार्यसमितिको प्रवेश भयो । तर पनि फुटबलको समस्या समाधानमा नयाँ नेतृत्व उदासीन देखिन्छ । यस्तो अवस्थामा लिग आयोजना गर्न आवश्यक रकम जुटाउन एन्फाले राष्ट्रिय खेलकुद परिषद् र अन्य निकायसँग सहयोगको अपिल गरेको छ । मुख्य प्रायोजकको रुपमा रहेको कतार एयरवेजले हात निकाल्दा एन्फा आर्थिक रुपमा संकटमा छ । आपसी खिचातानीमा रुमलिएको एन्फा नेतृत्व र कठिन आर्थिक अवस्थाले लिग समयमा नै नहुने प्रश्न पनि उत्तिकै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *