चार्ल्स शोभराज ‘डिपोर्ट’, १० वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध

सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको जेल जीवनबाट रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार फ्रान्स निष्कासित भएका छन् । शुक्रबार साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फ्रान्सका लागि ‘डिपोर्ट’ गरिएको हो ।

शुक्रबार नै केन्द्रीय कारागारबाट छुटेका शोभराजलाई नेपाल सरकारले ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरेको हो । केन्द्रीय कारागार सुन्धाराबाट छुटेपछि शोभराजलाई कारागार कार्यालयले शुक्रबार नै अध्यागमन विभागको जिम्मा लगाएको थियो ।

दुई विदेशी नागरिकको हत्या अभियोगमा दोषी ठहर भइ १९ वर्षभन्दा लामो समय काठमाडौंस्थित कारागारमा थुनिएका शोभराजलाई बुधबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो । साथै फैसलामा उनलाई १५ दिनभित्रै फ्रान्स फिर्ता पठाउन पनि अदालतले आदेश दिएको थियो ।

२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो ।

शोभराजलाई कम्तीमा १० वर्षसम्म नेपाल फर्कन नपाउने भन्दै प्रतिबन्ध पनि लगाइएको छ । शुक्रबार कतार एयरवेजको उडानबाट उनी कतार हुँदै फ्रान्सका लागि प्रस्थान गरेका हुन् । कतार उड्नुअघि अध्यागमनका कर्मचारी र प्रहरीसित उनले पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर