निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुबी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन् । उनीहरूले ४ बुँदे मागसहित उनीहरुले काठमााडौंको माइतीघरमा धर्ना सुरु गरेका हुन् ।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन सुरु गरेको अधिकारकर्मी रुबी खानले बताइन् । उनले निर्मला र नन्कुन्नीको न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताइन् ।

उनले सरकारले पटकपटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाइन् । उनले सरकारले आन्दोलनकारीहरूसँग दुई पटक वार्ता गरेको तर पनि मुद्दा अदालतसम्म पुर्‍याउन नसकेको बताइन् । उनले प्रहरीले नै अपराधीको रक्षा गरिरहेको भन्दै आपत्ति जनाइन् ।

घटनापछि न्यायको माग गर्दै पहिलो पटक उनीहरू नेपालगञ्जबाट २० दिनको पैदलायात्रा गर्दै काठमाडौं आएका थिए । उनीहरूले माइतीघरमा १९ दिन धर्ना दिएका थिए । गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले धर्ना तोडेका थिए । त्यसपछि उनीहरूले दोस्रो पटकमा ४२ दिनसम्म आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *