कोशी सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

कोशीमा नयाँ सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस नेता केदार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

उनले रिटमा सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान बदर गर्न अन्तरिम आदेश र मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् । सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको जानकारी दिएको छ ।

संविधानको धारा १६८ (५) अन्तर्गत निर्मित सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने व्यवस्था संविधानले पनि परिकल्पना नगरेकोमा सङ्कल्प प्रस्तावको आधारमा विश्वासको मत नलिएको भन्ने आधार देखाई नयाँ मुख्यमन्त्रीको नियुक्तिको निमित्त दाबी पेश गर्न मिति २०८१।०१।२६ मा प्रदेश प्रमुखले गरेको आव्हान, निर्णय, पत्राचार एवं सूचना उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

त्यस्तै सरकारको निर्माण र अन्त्यको नियमन गर्ने संवैधानिक व्यवस्थालाई निष्प्रभावी बनाउने उद्देश्यको साथ मिति २०८१।०१।०७ मा पारित भएको भनिएको सङ्कल्प प्रस्ताव उत्प्रेषणको आदेशले बदर गर्न रिटमा भनिएको छ ।

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ बुधबार राति नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । एमाले र माओवादी गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गर्नुका साथै आज उनलाई मुख्यमन्त्रीमा समेत नियुक्त गरिसकिएको छ ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि एमाले र माओवादीले कार्की नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएका थिए ।

त्यसपछि अल्पमतमा परेका कार्कीले ३० दिनभित्र विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएकाले उक्त सरकार कामचलाउ भएको एमाले र माओवादी गठबन्धनको दाबी थियो । प्रदेश प्रमुख खापुङले सोही आधारमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर