भ्रम छर्न एमालेका मान्छेले पार्टी एकताको हल्ला चलाए : गंगालाल तुलाधर

नेकपा (एकीकृत समाजवादी) का अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । जारी बैठकमा अधिकांश सदस्यले विगतमा सहकार्य गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले बताए ।

एकीकृत समाजवादीले सरकारलाई समर्थन नगरे पनि सरकारले निरन्तरता लिने भएकाले समर्थन गर्नु उपयुक्त हुने अधिकांश नेताहरूको धारणा रहेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन औपचारिक रूपमा प्रस्ताव नपठाएको खण्डमा पार्टी सरकारमा भने जान नहुने नेताहरूले निष्कर्ष निकालेका छन् ।

उनले एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरूलाई भ्रममा पार्नका लागि एमालेका मान्छेहरूले पार्टी एकताको हल्ला चलाएको बताए । पार्टी एकताको हल्ला चलाएर एकीकृत समाजवादीका कार्यकर्ताहरूलाई भुलभुलैयामा राख्ने षड्यन्त्र भइरहेको उनले बताए । उनले एमालेसँग एकताको लागि कुनै प्रयास नभएको स्पष्ट पारे ।

उपमहासचिव तुलाधरले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एमालेले पार्टी एकता गराउन लागेको भन्ने कुरालाई हावाको संज्ञा दिए । एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव यति छिट्टै नराख्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *