काठमाडौं बोलाएर अपहरण गरी २५ लाख फिरौती लिने तीन पाकिस्तानी पक्राउ

एक जना पाकिस्तानी युवालाई क्यानडा पठाउने भन्दै काठमाडौं बोलाएर अपहरण गरी २५ लाख रुपैयाँ बढी फिरौती लिने तीन पाकिस्तानी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाकिस्तानको कसुरका ३० वर्षीय मुहम्मद रासिद, लाहोरका ३५ वर्षीय मुहम्मद आसिफ र पाक्पात्तनका ३५ वर्षीय मुहम्मद फिदा हुसैन छन्। उनीहरू तीनै जना काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्दै आएका थिए।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत रोजगारीका लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमा नै पूरा गर्नुपर्छ भनी पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल पठाई ठमेलस्थित होटलमा बस्न लगाएका थिए।

पुस २४ गते बायोमेट्रिकलगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा पु¥याएर आँखामा पट्टी बाँधी हातखुट्टामा प्लाष्टिकको डोरीले बाँधी बोल्न कराउन नदिई बन्धक बनाएका थिए। त्यसपछि पाकिस्तानमा रहेका पीडितका भाइलाई अब मेरो क्यानाडाको लागि फ्लाइट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर ३० घण्टापछि पुनः म क्यानाडा पुगेँ, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाए।

दाजुको म्यासेज आएपछि पीडितका भाइले पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपियाँ र २४ हजार यूएई दिरामसमेत गरी नेपाली रुपैयाँ २५ लाख ६६ हजार ६९७ फिरौती रकम बुझाएका थिए। सोपश्चात् पीडितलाई पुस २६ गते राति ट्याक्सीमा राखी सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनी छाडी फरार भएका थिए।

पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी परिसर काठमाडौंसँग समेत समन्वय गरी संलग्न व्यक्तिहरूको खोजतलास थालेको थियो।

सो क्रममा घटनामा संलग्न उनीहरूलाई घटनामा प्रयोग गरेका दसीका सामानसहित पुस २८ गते बूढानीलकण्ठ–४ स्थित भाडाको घरबाट पक्राउ गरेको हो। उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २११ को अपहरण गर्न नहुने र २१२ को शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *