राष्ट्रिय सहमितको सरकार बनाउने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएको बताएका छन्।

प्रवक्ता महतले समग्र देश र संसद्को प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरूको निर्वाचन पनि दलहरूबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले नेपाली कांग्रेससँग नै प्रतिबद्धता गरेको बताएका हुन्।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरू देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नो पार्टीले राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाहरूको नेतृत्व चयन दलहरूबीचको सहमतिमा नै हुनुपर्ने प्रस्ताव अघि सार्नुपरेको स्पष्ट पारे।

प्रवक्ता महतले सरकार बनाएजस्तो गरेर अल्पमत, बहुमतको आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनको विषयलाई बनाउन नहुने पनि बताए। उनले सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद महत्त्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरूले साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताए।

संवैधानिक पदहरू मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले आफूले दिएको वचनबद्धता पूरा गर्नेमा आशावादी रहेको बताए। उनले संवैधानिक पदहरूमा रहने व्यक्तिले पार्टीगत रूपमा नभई समग्र देशको नै प्रतनिधित्व गर्ने भएकाले सबै पार्टीहरूले सोचेर निर्णयमा पुग्नुपर्ने बताए।

प्रवक्ता महतले दलहरूबीच राष्ट्रपतिलगायतका संवैधानिक पदहरूमा सहमति नभए आफ्नो पार्टीेले उम्मेदवारी दिने पनि स्पष्ट पारे। प्रवक्ता महतले संविधानको रक्षा गर्नका लागि आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताए। उनले प्रधानमन्त्री दाहालले नै कांग्रेससँग विश्वासको मतको अपेक्षा गरेकाले संविधानको रक्षाका लागि नेपाली कांग्रेसले समर्थन गरेको बताए।

उनले कांग्रेसले प्रधानमन्त्रीको समर्थन कुनै पद प्राप्तिका लागि नगरेको बताए। उनले कांग्रेसले सरकारको नेतृत्व गर्छु भन्नु कुनै हिसाबले गलत नभएको पनि बताए। कांग्रेस संवैधानिक व्यवस्थाको रक्षा हुनुपर्छ, आवश्यक परिवर्तनका कदमहरू संवैधानिक व्यवस्थालाई टेकेर सर्वदलीय छलफलबाट संसद्बाट नै हुनुपर्ने पक्षमा रहेको बताए।

प्रवक्ता महतले एमाले अध्यक्ष केपी ओलीले संविधानमाथि फेरि पनि धावा बोल्ने ढंगका अभिव्यक्ति दिएपछि कांग्रेसले त्यसको रक्षाका लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने अवस्था आएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *