प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्छौं : मुख्यमन्त्री जमरकट्टेल

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई विश्वासको मत प्राप्त भएको छ। हेटौंडामा आज बसेको प्रदेश सभा बैठकबाट जमरकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन्।

उनको पक्षमा संसद्मा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए। विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मतदान गरे।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ। उनको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ सांसदले मतदान गरेका छन्।

विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री जमरकट्टेलले संसद्मा सहभागी अधिकांश दलले मत दिएको र सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए। उनले ७ मध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताए।

मुख्यमन्त्री जमरकट्टेलले वाग्मती प्रदेश सरकारले जनताको चाहनाअनुसार पूर्ण रूपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *