लोकप्रिय बन्दै कृष्णश्री राईको ‘सातै सुरको सरगम तिमी हौ’ (भिडियो)

खोटाङका गीतकार कृष्णश्री राईको शब्द रहेको हालै बजारमा आएको ‘सातै सुरको सरगम तिमी हौ’ बोलको गीत लोकप्रिय बन्दै गएको छ। ‘कुमार गजुरेल’ युट्युब च्यानलमा ११ दिनअघि सार्वजनिक गीतको म्युजिक भिडियोलाई हालसम्म ७४ हजार बढी दर्शकले हेरिसकेका छन्।

गीतमा ‘नेपाल आइडल सिजन ३’ बाट उदाएका लोकप्रिय गायक प्रवीण बेडवालले स्वर दिएका छन् भने शंकरसिंह ठकुरीले संगीत भरेका हुन्। यो गीत ‘द म्युजिक एरा’ स्टुडियोमा रेकर्ड भएको हो। प्रवीण पोखरेलले गीतको रेकर्डिङ र सन्तोष पौडेलले मिक्सिङ गरेका हुन्। गीतमा बाबुल गिरीको एरेञ्ज रहेको छ।

वियोगमा रहस्यमय प्रेमिल भाव बोल्ने कथामा आधारित गीतको भिडियोमा गिरी विश्वकर्मा र तुलसी विश्वकर्माको मुख्य अभिनय रहेको छ भने बाल कलाकारको रूपमा लुनिभा श्रेष्ठ छिन्। भिडियोलाई कुमार गजुरेलले निर्देशन गरेका हुन्।

भिडियोमा गिरी र तुलसी श्रीमान र श्रीमतीको भूमिकामा छन्। लुनिभा उनीहरूकी छोरी हुन्। प्रथमपल्ट सन्तान प्राप्त गर्न लागेका दम्पतीकाे खुशी र सन्तानको जन्मलगत्तै श्रीमतीको निधनपछि वियोगमा पीडित श्रीमानको अवस्था भिडियोमा देखाइएको छ। यहाँ तुलसी लुनिभालाई जन्म दिएसँगै दिवंगत हुन्छिन्। त्यसपछि बुवाले छोरीका लागि गरेको संघर्षको पाटो पनि भिडियोमा मर्मस्पर्शी ढंगबाट देखाइएको छ।

कृष्णश्री राई।

गीतकार राईको यसअघि गायक प्रदीपराज पाण्डेको स्वरमा ‘जब विश्वासमा खडेरी परेपछि’ बोलको गीत रेडियो नेपालबाट सार्वजनिक भइसकेको छ। उनले आगामी वैशाखअघि नै थप दुई गीत बजारमा ल्याउने गरी तयारी गरिरहेको पनि बताए।

पेशाले शिक्षक रहेका राई गीत लेखनसँगै साहित्यका बहुविधामा कलम चलाउँछन्। २०५३ सालदेखि शिक्षण पेशामा आबद्ध राई हाल खोटाङको खोटेहाङ गाउँपालिका–६, ईन्द्रेणीपोखरीस्थित ईन्द्रेणीपोखरी माध्यमिक विद्यालयमा अंग्रेजी विषय अध्यापन गराइरहेका छन्। त्यसअघि उनी खोटेहाङ–८, सिम्पानीस्थित सिम्पानी मावि र सिम्पानी क्याम्पसमा अध्यापन गर्थे। उनी सिम्पानी क्याम्पसको पूर्व क्याम्पस प्रमुखसमेत हुन्।

राईका ‘औंशीको कालो रात’ (कथासंग्रह), ‘लाशहरूको मौनता’ (गजलसंग्रह), ‘बौलाही आमा र सुनौला मुस्कानहरू’ (कथासंग्रह) प्रकाशित छन्। यस्तै उनले माध्यमिक तह अंग्रेजी विषयको खुल्ला प्रतिस्पर्धीका लागि १०० पूर्णांकको द्वितीय पत्रको पुस्तकसमेत लेखेका छन्। खोटेहाङ गाउँपालिकाको पालिका गान पनि राईले नै सिर्जना गरेका हुन्।

हेर्नुस् भिडियाे :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *