गण्डकीमा १२ बाट ७ मा झारियो मन्त्रालय संख्या

गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ। यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारकी प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिइन्।

उनका अनुसार संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलस्रोत मन्त्रालय बनाइएको छ।

मन्त्रालयको संख्या कटौतीसँगै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने मन्त्री सुन्दासको भनाइ छ। मन्त्रालयको संख्या कटौती नहुँदासम्म बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका तीन जना मन्त्रीको जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन।

गत पुस २५ मा मुख्यमन्त्री खगराज अधिकारीसहित तीन बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। बिनाविभागीय मन्त्रीका रूपमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर