मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद‚ ७५ हजार क्षतिपूर्ति

सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैसीलाई मानव बेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।

काठमाडौं जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले माघ १० गते उनलाई दुवै कसुरमा दोषी ठहर गरेको थियो। जिल्ला अदालतले बालयौन दुरुपयोग मुद्दामा पाण्डेलाई ६ महिना कैद, पीडित युवतीलाई ५० हजार क्षतिपूर्ति र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। मुलुकी अपराधसंहिताको दफा २२५ मा बालयौन दुरुपयोगमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था भएकाले कसुर ठहर भएकै दिन पाण्डेलाई सजाय सुनाइएको थियो।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन्।

पाण्डेले आफूलाई पटकपटक यौनशोषण गरेको, त्यसपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको र आत्मबल टुटेको हुनाले औषधिको सहारा लिनुपरेको ती युवतीले बताएकी थिइन्। आठ वर्ष लामो अन्तर्द्वन्द्वपछि बोल्ने आँट जुटाएकी उनलाई न्याय प्राप्तिका लागि हदम्याद तगारो बनेपछि प्रेस, सडक र संसद्मा समेत बलात्कार मुद्दामा हदम्याद हटाउनुपर्ने आवाज उठेको थियो। त्यसपछि उत्पन्न परिस्थितिले व्यवस्थापिकालाई हदम्यादसम्बन्धी कानून बदल्न बाध्य पारेको हो।

बलात्कार मुद्दा दर्ता गर्नका लागि हदम्याद बाधक भएपछि गत असार १ मा पाण्डेविरुद्ध जिल्ला अदालतमा बालयौन दुरुपयोग र मानव बेचबिखनमा मुद्दा दर्ता भएको थियो। कुनै पनि व्यक्तिलाई शोषण गर्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने कार्यलाई नेपालको कानूनले मानव बेचबिखनको परिभाषामा समेटेको छ। ती युवतीलाई सुरुमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरी विभिन्न ठाउँमा पु¥याएर निरन्तर शोषण गरेको कार्य मानव बेचबिखनअन्तर्गत पर्ने जिल्ला अदालतले मंगलबार ठहर गरेको हो।

पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो। जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले असार ६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनी डिल्लीबजार कारागार पठाइएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर