रातोपुलमा पुरुषको शव फेला प्रकरण

घर लगिदिन्छु भनेर ट्याक्सी चढाए, बीचमै ओरालेर हत्या गरे

काठमाडौंको रातोपुलमा मृत भेटिएका पुरुषको हत्या भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ। हत्या गरिएका पुरुष वीरगञ्ज भर भई टोखा बस्ने ध्रुवबहादुर खड्का रहेको खुलेको छ। उनको हत्या आरोपमा प्रहरीले चितवन घर घई कपन बस्ने राम थापालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार हत्या गरिएका खड्का बत्तीसपुतलीमा भोज खाएर मंगलबार साँझ करिब ९ बजेर ३० मिनेटमा घर जान भनी निस्केका थिए। मापसे गरेका उनलाई थापाले ‘घर लगिदिन्छु’ भनेर ट्याक्सीमा चढाएर रातोपुल पुगेपछि ओराले र ट्याक्सीलाई फिर्ता पठाई उनको त्यहीँ कुटपिट गरी हत्या गरे।

उनकाे बीभत्स तरिकाले हत्या गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। मूल सडकबाट केही मिटर भित्र गल्लीमा लगेर पहिले भित्तामा अनुहार ठोक्काएको र त्यसपछि छातीमा लात्तिले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ।

थापाले लुट्ने उद्देश्यले खड्काको हत्या गरेको पनि अनुुसन्धानबाट खुलेको छ। खड्का मापसे गरेर एक्लै हिँडेको देखेपछि लुट्ने नियतले उनले रातोपुलमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो।

हत्यापछि ध्रुवको पर्स, मोबाइल र कम्मर पेटी उनले लिएर हिँडेका थिए। आरोपीलाई कपनबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर