पेस्तोल देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोह पक्राउ

पर्सा प्रहरीले पेस्तोल देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२४ रामगढवाका ३४ वर्षीय विजय महतो, वीरगञ्ज-२ छपकैयाका ३० वर्षीय सदाम अन्सारी, वीरगञ्ज–११ का ३४ वर्षीय सन्तोष लामा, बाराको कलैया उपमहानगरपालिका-२३ का २६ वर्षीय मुकेश पटेल रहेका छन्।

यस्तै भारत बिहारका २४ वर्षीय इमाम अन्सारी, वीरगञ्ज-११ का ४० वर्षीय रोशन थापा, सोही स्थानका ४२ वर्षीय मोजामिल मियाँ, बाराको परवानीपुर गाउँपालिका-३ का नबाब हुसेन पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले माघ २६ गते वीरगञ्ज-६ स्थित रेल्वे सडकखण्डबाट पेस्तोल देखाई अपहरण गरेर वीरगञ्ज-१५ भिष्वास्थित एकान्त ठाउँमा लगी विशालकुमार पटवाको साथमा भएको ६ लाख ५० हजार लुटेका थिए।

त्यसबारे सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट इन्स्पेक्टर प्रज्ज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले पीडित पटवालाई उद्धार गरेको थियो। त्यसपछि अपहरण तथा लुटपाटमा संलग्नहरूलाई खोजतलास गरी पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए।

बरामद पेस्ताेल र गाेली।

पक्राउ परेका विजय महतोका साथबाट प्रहरीले ४ लाख ९० हजार रुपैयाँ नगद, मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, सो पेस्तोलमा लाग्ने गोली ५ राउण्ड, म्याग्जिन १ थान र खुकुरी १ थान बरामद गरेको छ।

यस्तै सदाम अन्सारीको साथबाट बीआर०१सीआर २४२५ नम्बरको २२० सीसीको मोटरसाइकल १ थान, ५०० रुपैयाँ नगद र कैंची १ थान, सन्तोष लामाको साथबाट ५०० सय रुपैयाँ नगद र १ थान कैंची बरामद भएको छ।

त्यसैगरी मुकेश पटेलको साथबाट ४०० रुपैयाँ नगद, १ थान कैंची, ना६२ प१०० नम्बरको २२० सीसीको मोटरसाइकल १ थान, इमाम अन्सारीको साथबाट ६०० रुपैयाँ नगद र १ थान कैंची, रोशन थापाको साथबाट ५०० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी गिरीले जानकारी दिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर