सेनाका तालिमरत अधिकृतहरूले गरे पुलिस हेडक्वार्टरको अवलोकन भ्रमण

सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमाण्ड एण्ड स्टाफ सि.सं.२९ का तालिमरत ९२ जना अधिकृतहरूले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको अवलोकन भ्रमण गरेका छन।

अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले स्वागत गर्दै भम्रण कार्यक्रमसम्बन्धी जानकारी गराएका थिए।

सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र संग्राहालय समेतको अवलोकन गरे।

अवलोकनपश्चात् आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दीपशम्शेर राणाले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।साथै उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरीसम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै समाजमा शान्तिसुरक्षा कायम गर्न दुवै संगठनबीच सूचनाको आदानप्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गरेको उक्त कार्यक्रममा सेनानी दिलबहादुर गुरुङले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवादसहितको मन्तव्य व्यक्त गरेका थिए।

तालिमरत अधिकृतहरूमा ३ जना महिला र ८९ जना पुरूषको सहभागिता रहेको थियो। जसमध्ये अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, केन्या र नाइजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *