पोखरामा बस दुर्घटना, ५१ जना घाइते

पोखरामा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांस विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो ।

घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालहरूले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

घाइतेमध्ये दुई/दुई जनाको फिस्टेल अस्पताल र मेट्रोसिटी, तीन जनाको मेडिप्लस अस्पताल, पाँच जनाको गण्डकी मेडिकल कलेज अन्य बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । चिकित्सका अनुसार घाइतेहरूको हातखुट्टामा चोटपटक लागेको छ ।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका विद्यार्थी सोमबार पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि लगाउने पोसाक (गाउन) लिएर फर्कँदै गरेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै प्रहरी र सर्वसाधारणको घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेका थिए । दुर्घटनामा परेको बसलाई दुईवटा क्रेनको सहायताले बाहिर ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *