स्पट फिक्सिङ प्रकरण : आदिल र महबुबसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङमा ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल अन्सारी, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दर्ता गरेको हो।

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको आशंका सार्वजनिक भएपछि ब्यूरोका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। समितिले गरेको अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको प्रहरीले बताएको थियाे।

र, याे पनि-

स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन, दुई कसुरमा १२ प्रतिवादी

तीमध्ये आदिल र महबुबसहित वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता पक्राउ परेका थिए। सरकारी वकिलको कार्यालयका अनुसार काठमाडौं नाइट्स टिमका को-वोनर नवीन कँडेल र सप्तरीका रवि माझीविरुद्ध पनि फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको छ।

बाँकी ७ जनाको नाम, थर र वतन खुलेपछि मुद्दा दर्ता गरिने बताइएको छ। उनीहरूविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न मागदाबी गरिएको छ।

यस ऐनअनुसार यस्ता गतिविधिमा संलग्नलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। लेनदेनको रकम खुले त्योसमेत जफत हुने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर