बाबुराम भट्टराईकाे प्रश्न- बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो? यो निहुँ खोजेको होइन?

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन्।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘अहिले यत्रो आक्रमण भइरहेको छ। माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ। एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो? यो निहुँ खोजेको होइन? तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि। हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ? किन सडकमा निस्किन सक्दैनौँ? सक्नेहरू, विचार मिल्नेहरू एउटै पार्टी बनाऔँ। यस्ता मुद्दामा कार्यगत एकता गरौँ। त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ त्यसले परिवर्तन ल्याउँछ। हाम्रा शहीदहरूको सपना पूरा गर्छ।’

उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भन्दै यसको विरुद्धमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे। उनले यस्ता मुद्दाहरूमा सबै माओवादीहरू एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरूमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताए।

उनले भने, ‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दा पनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ। त्यसपछि मिल्न सक्नेहरू जति एक ठाउँमा आऔँ, एउटा पार्टी बनाऔँ। पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ।’

पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानुपर्ने बेला आएको बताए। उनले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरीहरू महसुस गरेर अघि बढ्नु नै देश र जनताका लागि कल्याणकारी हुने उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर