उपराष्ट्रपति निर्वाचन-२०७९

रामसहायप्रसाद यादव जसपाको उपराष्ट्रपति उम्मेदवार, निर्विरोध निर्वाचित हुने सम्भावना प्रबल

जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले सांसद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको जसपाका एक नेताले जानकारी दिए। याद गत मंसिर ४ मा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो। पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्रसमेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउन लागेका हुन्।

रामसहायप्रसाद उपराष्ट्रपति उम्मेदवार हुँदै विजयी भएमा उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। चैत ३ मा उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ।

यसैबीच नयाँ उपराष्ट्रपति निर्विरोध चुनिने सम्भावना देखिएको छ। उपराष्ट्रपतिमा नेकपा (एमाले)ले उम्मेदवारी नदिने सम्भावना भएकाले चैत ५ मा उपराष्ट्रपति निर्विरोध निर्वाचित हुने सम्भावना बढेको हो।

एमालेले अहिलेसम्म उपराष्ट्रपतिमा उम्मेदवारी दिने/नदिने निर्णय गरेको छैन। स्रोतहरूका अनुसार ८ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता उपराष्ट्रपति उम्मेदवार बने एमालेले आफ्ना उम्मेदवार उठाउने छैन।

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता फागुन २९ मा ताेकिएकाे छ। राष्ट्रपतिमा भने बिहीबार भएकाे निर्वाचनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल निर्वाचित भइसकेका छन्। उनले नेकपा एमालेका उम्मेदवार सुवाचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्।

पौडेल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन्। बिहीबार संघीय संसद्मा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्।

पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

अर्का उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *