राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्त्व यथावत्- प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चातको परिवर्तित विश्व व्यवस्था तथा तीव्र गतिमा बढिरहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाको क्षेत्रलाई व्यापक बनाउँदै लगेको र यसले बहुपक्षीय मानव केन्द्रित सुरक्षा अवधारणालाई समेट्ने बताएका छन् । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित सि.सं. ८ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् ।

उनले आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको र यस्तो वातावरणको सुनिश्चितता राज्यशक्तिका सम्पूर्ण संयन्त्रहरुको सहकार्यबाट मात्र संभव हुने बताए ।

उनले गैर परम्परागत सुरक्षा चुनौतीहरु बढ्ने क्रममा त्यस्ता चुनौतीहरु सामना गर्ने उपयुक्त विकल्पहरुको खोजी हुनु स्वाभाविक भए तापनि राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गरे ।

प्रधानसेनापति शर्माले विविध चुनौतीहरुले नेपालको राष्ट्रिय सुरक्षामा पार्ने संभावित प्रभावको अनुमान गर्दै त्यसलाई सामना गर्न नेपालको संविधानले नै सुरक्षाको बृहत पक्षको महत्वलाई आत्मसात गरेको कुरा उल्लेख गर्दै नेपालको राष्ट्रिय सुरक्षा नीतिले राष्ट्रिय हितहरुको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुंगाको कार्य गरेको बताए ।

राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका महत्वपूर्ण विषयहरुमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तरक्रियाको लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय संचालनका लागि भौतिक संरचनाको निर्माण तीव्र रुपमा अघि बढिरहेको जानकारी दिँदै प्रधानसेनापति शर्माले उक्त विश्वविद्यालय संचालनमा आउने बेलासम्म राष्ट्रिय सुरक्षा अवधारणा माथि प्राज्ञिक बहस, खोज र नीति निर्धारणमा सघाउ पुर्याउने जनशक्ति तयार गर्न यो तालिमले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

समारोहमा रक्षासचिव करणराज शर्माले सुरक्षा खतराहरुको प्रकृति विश्वव्यापी रुपमा परिवर्तन भइरहेको हुँदा कुनै पनि राष्ट्र बहुआयामिक खतराबाट मुक्त नरहेको र नेपालले यस्ता चुनौतीहरु सामना गर्न सबै मन्त्रालयहरुको समग्र प्रयासबाट राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्ने क्षमता बढाउनु पर्ने उल्लेख गरे । उनले यस तालिमबाट प्राप्त हुने ज्ञान र अनुभवको आदान–प्रदान मार्फत सहभागीहरूमा राष्ट्रिय सुरक्षा संवेदनशीलता सम्बन्धमा चेतना अभिवृद्धि हुने विश्वास पनि व्यक्त गरे ।

आजबाट चैत्र १५ गतेसम्म सञ्चालन हुने यस तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, सञ्चार माध्यम लगायत सरकारी र गैह्र सरकारी निकायका वरिष्ठ अधिकारीहरु ३० जनाको सहभागिता रहेको छ ।

राष्ट्रिय सुरक्षाका बहुआयामिक विषयहरु, राष्ट्रिय शक्तिका संयन्त्रहरु, राष्ट्रिय सुरक्षामा आईपर्ने खतराहरुको विश्लेषण र सोही खतरा सामना गर्न आवश्यक पर्ने रणनीति र योजना तयार गर्ने सम्बन्धमा अन्तरक्रिया, छलफल र पठनपाठन गरी राष्ट्रिय सुरक्षाको मामलामा सबैको साझा बुझाइ कायम गर्ने उद्देश्यका साथ वि.सं. २०७२ सालदेखि संचालन भएको यस तालिमबाट हालसम्म १६६ जना प्रशिक्षित भइसकेका छन् ।

आजको समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खराल, बलाधिकृत रथी, बलाध्यक्ष रथी, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका रथी तथा अधिकृतहरु, विषयविज्ञहरु, बुद्धिजीवीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर