विदेशी लगानीकर्तालाई सबै सेवा एकै ठाउँबाट प्राप्त गर्ने वातावरण बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको ‘नेपाल-चाइना बिजनेस फोरम-२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरूको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा सुरु गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे । उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गरे । उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए ।

प्रधानमन्त्री दाहालले चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीतिनियम कारक रहेकाले अफ्ठ्यारा नीतिनियमलाई सहज बनाउँदै धेरैभन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे । उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधी, तरकारी, चिया, मासुलगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे।

प्रधानमन्त्री दाहालले नेपाल ‘एक चीन नीति’मा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए ।

उनले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रूपमा राखेकाले चिनियाँ नागरिकहरू नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे । दुई पक्षीय व्यापार प्रवर्द्धन गर्दै जाने चीन सरकारको नीति भएको बताए ।

उनले आफूहरू नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरू पहिचान गर्ने काममा लागेको पनि बताए । उनले आफूहरूले नेपालसँग स्वच्छ ऊर्जा, प्रविधि र विद्युतका क्षेत्रमा सहकार्य गर्ने सोच बनाएको बताए ।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन सङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राजदूत सङले नेपालीहरूलाई चीन भ्रमण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमा नाकाहरू खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । नेपाल र चीनका व्यपारीहरूबीच सोमबारदेखि छलफल सुरु भएको हो । करिब ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरूबीच छलफल भएको हो । बैठकमा सहभागिताका लागि सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर