स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छ : मुख्यसचिव वैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन्। बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव वैरागीले यस्तो बताएका हुन्।

उनले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ ऊर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताए। उनले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताए। मुख्यसचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौती रहेको बताए।

उनले स्वच्छ ऊर्जा छ भन्दैमा आवश्यकताभन्दा बढी प्रयोग गर्न नहुने बताए। उनले सरकार उपभोक्ताहरूसँग छलफल गर्न तयार रहेको बताए। उनले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना पर्याप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए।

उनले उपभोक्ता अधिकारको विषय संघ, प्रदेश, स्थानीय तह र अधिकारकर्मीहरूको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताए। उनले शहरको राम्रो कोठामा बसेर उपभोक्ता अधिकारका राम्रा कुरा गरे पनि दूरदराजमा बस्ने नेपालीहरू उपभोक्ता अधिकार र हकको विषयमा पूर्ण रूपमा जानकार नभएको बताए।

त्यस्तै उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताए। उनले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताए। उनले उपभोक्ता अधिकारका लागि सबैभन्दा ठूलो निरीक्षणकर्ता भनेको नागरिक आफैं भएको बताए। उनले उपभोक्ता अधिकारको सुधार गर्दा गुणस्तरीयता पनि थप्दै जानुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा नेपाल राष्ट्रिय उपभोक्ता महासंघका प्रतिनिधिलाई बोल्न नदिएको भन्दै विवाद भएको थियो। उद्घोषकले महासंघका प्रतिनिधि चन्द्र साउदलाई मन्तव्य राख्न दिएसँगै सहज ढंगले कार्यक्रम भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर