अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट ९ जना पक्राउ

प्रहरीले अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट ९ जनालाई पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका–१ हवल्दार चोकबाट अवैध लागुऔषध ब्राउनसुगरसहित २ ग्रामसहित मंलगबार राति ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय सञ्जय राई, सोही नगरपालिका–९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् । चोकमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात् निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस्तै धादिङको गजुरी नगरपालिका–६ आदमघाटबाट अवैध लागुऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका–४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका–१ बस्ने २३ वर्षीय इरफान खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ भौसावारीबाट अवैध लागुऔषध ब्राउनसुगर करिब ३ सय ६० मिलिग्रामसहित उर्लाबारी नगरपालिका–२ बस्ने २९ वर्षीय मिलन ढकाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे. ८ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटबाट अवैध लागुऔषध गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सिरहाको धनगढीमाई नगरपालिका–८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागुऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकाइछिपाइ गाँजा बिक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो सिरहा, इलाका प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट कुसहाबाट संयुक्त रूपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर