सत्तारूढ दलकै सांसदको प्रश्न- नक्कली कागजात बनाएर विदेश पठाउँदा सरकार के हेरेर बसेको छ?

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले विदेश पठाइरहेको बारेमा सरकार जानकार छ कि छैन भन्दै प्रश्न गरेकी छन्।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले श्रमिकहरूलाई विदेश पठाइरहेको भन्दै सरकारले आवश्यक कदम चाल्नुपर्ने माग गरेकी हुन्।

उनले नक्कली कागजपत्रहरू बनाएर वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले नागीरकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन्।

उनले सरकारले स्वदेशमा नै उद्योगधन्दाहरू खोलेर रोजगारी सिर्जना गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘आज वैदेशिक रोजगार व्यावसायिक संस्थाहरूले मनपरी ढंगले विदेश पठाइरहेको छ विभिन्न खालका कागजपत्रहरू बनाएर, नक्कली कागजपत्रहरू बनाएर पठाइरहेको स्थितिलाई सरकारले निगरानी राख्नुपर्छ कि पर्दैन? उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ कि पर्दैन? जे गर्दा पनि खुला रूपले यो ढंगले यसको दुःख र कष्ट आज गरिब, निमुखा जनताले भोगिरहेका छन्। त्यसैले सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने र स्वतन्त्र ढंगले काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ। पहिला त स्वदेशमा नै रोजगारी सिर्जना गरी राष्ट्र निर्माणमा लगाउनुपर्छ।’

सांसद राईले युवाहरूलाई स्वरोजगार बनाई समाजमा सम्मानपूर्वक बाँच्न दिनुपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *