गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ : सांसद देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् ।

आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले देखाइसकेको उनको भनाइ छ ।

भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष देवकोटाले अनुरोध गरे ।

उनले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भएपनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए ।

‘राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो हो, सरकारले नै गरोस् हेरोस् भन्दा सरकारले सुन्नुपर्छ । गम्भीर हुनुपर्छ’, उनले भने ।

सांसद देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताए । उनले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौँ सरकारी विद्यालयहरु ध्वस्त भएको बताए । उनले उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान बनाएको बताए । उनले निजी कलेज, स्कुलले मनपर्दी शुल्क बढाउँदा समेत सरकार मौन रहेको भन्दै आपत्ति जनाए ।

‘नेपालको शिक्षाको अवस्था नाजुक छ । विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौँ सरकारी विद्यालयहरु ध्वस्त भए । हुँदैछन्’, उनले भने, ‘उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान छ । निजी कलेज, स्कुलले शुल्क बढाउँछन् तर सरकार मौन छ ।’

सांसद देवकोटाले नेपालबाट दिनहुँ विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै सरकारले यसमा गम्भीर बन्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *