पर्यटनमन्त्री किराती भन्छन्- मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुनजस्तो भएँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताए। उनले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोह्रश्राद्धको बाहुनजस्तो भएको बताए।

उनले भने,‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु। मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानोसानो काममा हिँड्थेँ। यतिसम्म कि मान्छेहरूको बसको टिकटमा समस्यासमेत पुग्थें, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला। ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होलाजस्तो लाग्थ्यो। तर, म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ। लाग्छ म त सोह्रश्राद्धको बाहुनजस्तो भएँ।’

मन्त्री किरातीले मानिसको प्राचीन विधा गीत-संगीत रहेको बताए।

मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताए। उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *