आईजीपी कुँवरले गरे मौलोमा पूजाअर्चना

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्।

नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छापसमेत लगाए। साथै प्रहरी महानिरीक्षक कुँवरले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गरेका थिए। पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो। साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो। जसमा दुई वटा निशान रहेका हुन्छन्। मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिह्न अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ। नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्त्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ। संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रहिआएको छ। नेपाल प्रहरीले विक्रम संवत २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात् हरेक वर्ष बडादशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर