गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल-अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।

त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरूपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए।

संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानून निर्माणका लागि त्यससम्बन्धी विधेयक संसदमा पेस भइसकेको समेत उनले बताए।

राजदूत थम्प्सनले अमेरिकाले नेपालको शान्ति प्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताए। राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्प्सनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताए।

राजदूत थम्प्सनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए। कोभिडपछि अमेरिकी सहयोग संस्था ‘पिसकोर’को काम प्रभावित भएकाले ‘पिसकोर’ कार्यकर्ताको भिसा सहजताका लागि राजदूत थम्पसनले आग्रह गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताए।

नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राखे। श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर