महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औं वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षीहरू रहेका छन्। ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दैछन्।

बुधबार काठमाडौंको लाजिम्पाटस्थित होटल हिमालयमा वरिष्ठ उपाध्यक्षका तीन जना आकांक्षीहरू उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन्।

उनले भने, ‘संघलाई सबै उद्योगी व्यवसायीहरूको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो। त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौं भन्ने गरेको छु। यसै सिलसिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र सबै प्रदेशमा अधिकांश पदहरूमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन्। यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ। यसै सिलसिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो।’

उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरू समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतिको झनै ठूलो महत्त्व रहने बताए।

‘हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ। हाम्रो महत्त्व बढ्छ। हाम्रा माग सम्बोधन गराउन सकिन्छ। अहिलेको अवस्थामा झन् हामी एक हुनुको विकल्प छैन,’ उनले भने।

उनले थपे, ‘निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी विभाजन नहौऔं। एकता र सहकार्यबाट समाधान खोजौं। मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीहरूलाई मिलाउन सकिन्छ भनिरहेको छु। यसमा तपाईंहरूको साथ र सहयोग अपेक्षा गरेको छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *