जंगी अड्डा निरीक्षण गर्दै रक्षामन्त्री खड्काले भने- सेनालाई पूर्ण साथ र सहयोग रहन्छ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनालाई आफ्नो र आफ्नो मन्त्रालयको पूर्ण साथ र सहयोग रहने बताएका छन्। मन्त्री नियुक्त भएपछि शुक्रबार पहिलो पटक सैनिक मुख्यालय जंगी अड्डाकाे निरीक्षण भ्रमणका क्रममा मन्त्री खड्काले सो कुरा बताएका हुन्।

जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा मन्त्री खड्कालाई नेपाली सेनाको संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिहरूका बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा मन्त्री खड्काले सदैव नेपाली जनताको शिर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था नेपाली सेना आफ्नो भूमिका निर्वाहमा सदैव अब्बल रहन सकेकोमा प्रधानसेनापतिलगायत नेपाली सेना परिवारलाई बधाई ज्ञापन गरे। राष्ट्रको माटो, राष्ट्रिय एकता, स्वाधीनतासँग जोडिएको मन्त्रालय र यसअन्तर्गतका संस्थाहरूको महत्त्वअनुरूप आफ्नो रोजाइकै मन्त्रालयमा नियुक्त भई कार्य गर्न पाउँदा ज्यादै खुशी लागेको उनले बताए।

उनले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेशअनुरूपको सन्तुलित व्यवहार जरुरी रहेको बताउँदै जनताको आशा र विश्वास जगाउन रक्षा मन्त्रालय तथा नेपाली सेना मिलेर पारीवारिक परिवेशमा कार्य गर्दै जाँदा आशातित उपलब्धि हुने हुँदा नेपाली सेनालाई कार्यसम्पादनमा मन्त्रालयबाट पूर्ण रूपमा साथ र सहयोग रहने बताए। संसारका मानिसहरूले नेपाली सेनाको विश्व शान्ति स्थापना प्रयासमार्फत नेपाललाई चिन्ने वातावरण बनेको बताउँदै मन्त्री खड्काले वर्षौंदेखि नेपाली सेनाले विकास निर्माणका कार्यहरूमा संलग्न रही देशका दुर्गमस्थलहरूलाई सडक सञ्जालमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै विभिन्न समयमा विभिन्न प्रकारका विपद् प्रतिकार्य तथा कोभिड महामारीको दौरान आफ्नो जीवनलाई हत्केलामा राखेर नागरिकको उद्धारमा सदैव खट्टिई जनजनको मनमा बस्न सफल रहेको बताए।

मन्त्री खड्काले पर्यावरण संरक्षणमार्फत वातावरणीय असन्तुलनलाई सम्बोधन गरेर विश्व मानव समुदायलाई नै नेपाली सेनाले देन दिएको बताए। नेपाली सेनाले मित्रराष्ट्रका सैनिक संगठनहरूसँग कायम गरेको अद्वितीय, ऐतिहासिक सुसम्बन्धका कारण देशले विभिन्न प्रकारका विपद् तथा महामारीमा कठिनाइ भोगेका बेला समस्या समाधान गर्न सकेको प्रसंग उल्लेख गर्दै नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरे।

उनले नेपाली सेनाका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धि देशको गौरवसँग जोडिएको एवं सैनिक खेलाडीहरूले उत्कृष्ट खेल क्षमता प्रदर्शन गरेर प्रतियोगिता जित्ने तथा उच्च अनुशासन प्रदर्शन गरेर प्रतिस्पर्धी एवं दर्शकहरूको मन जित्ने गरेको आफूले पाएको बताए। उनले नेपाली सेनाको सर्वोपरि पेशागत दक्षताप्रति आफूलाई गर्व रहेको बताए।

निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्धको विस्तारका क्षेत्रमा धरोहर हुने भएकाले यथाशीघ्र यसको भौतिक संरचना निर्माण सम्पन्न गरेर सञ्चालन गर्न सरकार र आफ्नो तर्फबाट सदैव सहयोग हुने बताए। बहुचर्चित राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधे िद्रुतमार्ग आयोजनासँग जोडिएका नीतिगत, प्रक्रियागत समस्याहरूको समाधान गर्नेतर्फ प्रयासहरू भइरहेको र उक्त आयोजनाको कार्य छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने बताए।

साथै उनले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै नेपाली सेनाको विशेषता रहेको र यो नै साँचो अर्थमा लोकतान्त्रीकरण भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे। मन्त्री खड्काले चेन अफ कमाण्ड, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ रहेको बताउँदै यसलाई पालना गर्न सकलदर्जा प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले मन्त्री खड्कालाई बधाई ज्ञापन गर्दैै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जंगी अड्डामा स्वागत गरेका थिए। उनले नेपाली सेना संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा नेपाल सरकारबाट विशेष परिस्थितीहरूमा निर्दिष्ट गरिने कानूनबमोजिमका अतिरिक्त जिम्मेवारीहरू वहन गर्न सदैव तत्पर रहेको बताए।

उनले बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौतीहरू र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावको प्रतिकारका लागि नेपाली सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको बताउँदै नेपाली सेना नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली जनताको अपेक्षाअनुरूप कर्तव्यनिष्ठ भई आफ्नो भूमिका निर्वाह गर्न सदैव कटिबद्ध रहेको बताए।

कार्यक्रममा रक्षासचिव किरणराज शर्माले नेपाली सेनाको समग्र क्षमता विकासलगायत विद्यमान कठिनाइहरू समाधानमा मन्त्री खड्काबाट जिम्मेवारी सम्हालेलगत्तै चासो तथा महत्त्वका साथ निर्देशनहरू प्राप्त भइरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर