कोरोना संक्रमण बढेपछि पूर्वी नाकामा उच्च सतर्कता

पूर्वी नाका काँकडभिट्टाबाट कोभिड-१९ का संक्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ ।

भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्वाब परीक्षण अनिवार्य गरिएको यहाँस्थित हेल्थ डेस्ककी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताए । उनका अनुसार हेल्थ डेस्कले विगतदेखि नियमित निगरानी गर्दै आएको भए पनि भारत र नेपालमा कोभिड-१९ को नयाँ भेरियन्टका संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि नाकामा सतर्कता उच्च बनाइएको हो ।

नेपाल प्रवेश गर्ने विदेशी नागरिकको स्वाब परीक्षण र सबै आगन्तुकको सोधपुछ अनिवार्य गरिएको उनले जानकारी दिए । चैत महिनामा यो नाकामा गरिएको स्वाब परीक्षणबाट कसैलाई पनि कोभिड-१९ को संक्रमण देखिएको छैन । दुई वर्षअघि स्थापना गरिएको हेल्थ डेस्कमा सात जना कर्मचारी कार्यरत छन् । दैनिक एक सयभन्दा बढीको स्वाब परीक्षण भइरहेको उनले जानकारी दिए ।

दुई महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपाली, नेपालका उद्योगमा काम गर्न आउने भारतीय नागरिक र तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई प्राथमिकतामा राखेर दैनिक स्वाब जाँच गरिरहेको उनले बताए । भारतमा कोभिड संक्रमण बढेसँगै यहाँ पनि जाँचलाई तीव्र बनाइएको छ । नाकामा कोभिड परीक्षणको चाप बढ्दै गएकाले कर्मचारी अभाव हुने देखिएको छ ।

सीमामा स्वास्थ्य जाँचका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट एक जना, मेचीनगर नगरपालिकाबाट चार र स्वास्थ्य कार्यालयबाट दुई जना गरी हाल सात कर्मचारीले सेवा दिइरहेका छन् । हेल्थ डेस्ककी असिस्टेन्ट देउजाले नगरपालिकालाई थप तीन कर्मचारी पठाइदिन माग गरिएको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर