नक्सापास नगरी काम गरेको समिटको स्वीकारोक्ति, कडा कारबाही गर्न स्थानीयको माग

ललितपुर महानगरपालिका–१ कोपुन्डोल हाइटमा निर्माणाधीन समिट रेसिडेन्सीको काम नक्सापास नगरी थालिएको निर्माणकर्ता समिट होटल प्रालिले स्वीकारेको छ । कम्पनीका तर्फबाट प्रोजेक्ट सञ्चालक सञ्चित श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै नक्सापास लगायत प्रक्रिया अब अघि बढाइने जनाएका हुन् ।

‘साबिक समिट होटल रहेको स्थानमा समिट रेसिडेन्सीको अवधारणा कार्यान्वयनको चरणमा निर्माणस्थलको जग्गाको ‘पाइल प्रोटेक्सन’ को काम चलिरहँदा साइटको पूर्वदक्षिणतर्फको केही जमिन भासिन गई स्थानीयको आवासमा समेत असर परेकाले उक्त समस्या देखिए लगत्तै निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहवरमा छलफल गरी समस्या समाधानका लागि सहमति भइसकेको र सोही सहमति अनुसार आगामी काम अगाडि बढाइने’ विज्ञप्तिमा उल्लेख छ ।

यो पनि : समिट अपार्टमेन्ट प्रकरण : नक्सापासविना काम थाल्ने लगानीकर्तालाई के हुन्छ कारबाही ?

श्रेष्ठले परियोजनाको नक्सासम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत अघि बढाइएको जनाएका छन् । नक्सा र वातावरणीय प्रभाव मूल्यांकन सहितको प्रगति विवरण ललितपुर महानगरमा पेस गरिनेबारेमा पनि नगरप्रमुखलाई जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।

निर्माणकर्ताले अवैध रुपमा काम थालेको ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’ का कारण शुक्रबार राति केही घर भासिनुका साथै केही भत्किएका पनि छन् । स्थानीयको विरोधका बाबजुद मानवीय क्षति नै हुन सक्ने गरी निर्माणकर्ताले जबर्जस्ती काम गरेको भन्दै अहिले चौतर्फी आलोचना हुँदै आएको छ । मानवीय हानि नै हुनसक्ने गरी लापरबाहीको घटना भएकाले हालको व्यवस्थाअनुसार भन्दा पनि अझ कडारुपमा निर्माणकर्तालाई कारबाही हुनुपर्ने स्थानीयको माग छ ।

मंगलबार संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिफ शाहले दोषीलाई कडा कारबाही गर्न माग गरे । ‘जनताले एउटा टहरो बनाए पनि नगरपालिकाले आएर नक्सापास गरेको छ कि छैन भनेर चेक गर्नेले १६ तल्ले यत्रो भवनको डेभलपर्सले काम गर्दा नक्सा चेक गर्नुपर्छ कि पर्दैन ? कसको मिलेमतोमा भएको हो यो ?’ उनले प्रश्न गरे ।

यो पनि : समिट अपार्टमेन्ट प्रकरण : पैसा र शक्तिको आडमा ठूला व्यापारिक घरानाले बलमिच्याइँ गर्दा क्षति !

‘राति १२ बजे घर ढल्दै गर्दा मानवीय क्षति भएको भए कसले व्यहोथ्र्यो, जीवनभर लगाएर जोडेको घर भासिँदा आम नागरिक उठिबास हुँदा कसले जिम्मा लिने ? यथार्थ छानबिन होस्,’ उनले भने । प्रभावितको समस्या तत्काल सम्बोधन गर्न ललितपुर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ ।

पुरानो समिट होटल भत्काएर सम्भ्रान्त वर्गलाई लक्षित गरेर निर्माण गर्न लागिएको उक्त अपार्टमेन्ट र होटलका लगानीकर्ता हुन्, नेपालका डलर अर्बपति, चौधरी ग्रूपका प्रमुख तथा कांग्रेस सांसद विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्य ।

१६ हजार १९१.१५ वर्गकिलोमिटरमा निर्माणाधीन उक्त अपार्टमेन्ट र होटलमा करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ, जहाँ १३० कोठाको पाँचतारे होटल, १६० युनिट लक्जरी अपार्टमेन्ट हुनेछन् । त्यसका लागि ७ देखि १६ तलासम्मका ७ वटा संरचना बनाइने योजना छ ।

यो पनि : हाेटल समिटले बनाउँदै गरेकाे नयाँ भवनका कारण छिमेकका घरहरू भासिए (फाेटाे फिचर)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर