निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव छैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा.महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको बिस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका हुन् ।

उनले आर्थिक गतिविधिलाई चालयमान बनाउन राज्यको लगानीले मात्रै नपग्ने धारणा राखे । वाह्य र स्थानीय लगानीलाई प्रवद्र्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने भन्दै अर्थमन्त्री डा. महतले निजी क्षेत्र सरकारको साझेदार भएकोले राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडी बढाउन सकिने धारणा राखे ।

सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्य रुपमा केन्द्रित हुने अर्थमन्त्री महतले जानकारी दिए । सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्न प्रतिवद्ध रहेको भन्दै उनले पुँजीगत खर्च सकेसम्म कम हुन नदिने र पुँजीगत खर्चलाई प्रभावकारी ढंगले गर्ने सरकारको लक्ष्य रहेको बताए । पुँजीगत खर्चलाई प्रभावकारी बनाउन आवश्यक उपाय अपनाउन आफू तयार रहेको उनको भनाइ छ ।

अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार तत्काल हुन्छ भन्ने भावना विकसित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको धारणा राखे । पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गरी अर्थतन्त्रमा सुधार ल्याउन कुनै काम बाँकी नराख्ने प्रतिवद्धता जनाउदै उनले अर्थतन्त्रमा समस्या देखिएपनि महत्वपूर्ण आर्थिक सूचकांकहरु सकारात्मक रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे ।

उद्योग व्यवसायमा लगानीको वातावरण बन्न नसक्नु चिन्ताको विषय भएको भन्दै लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गर्ने उनको आश्वासन छ । बैंकको ब्याजदर लगायत अन्य विभिन्न व्यवसायीहरुका समस्या रहेको भन्दै उनले सरकारले सम्बोधन गर्नुपर्ने विषयमा सरकार गम्भिर रहेको आश्वासन दिए । राजश्व संकलनको स्थिति चिन्ताजक रहेको भन्दै सरकारको लक्ष्य पूरा नहुने अवस्था रहेको मन्त्री महतले जानकारी दिए । राजश्व संकलन चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा २८ प्रतिशतले कम भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर