मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस् : रास्वपा सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताएका छन्। पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भइरहेका बेला सांसद झाले सो भनाइलाई आफूले विश्वास गर्न नसक्ने बताएका हुन्।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेर देखाउन चुनौती दिए । नेपाली कांग्रेसमा आवद्धहरुले ट्विटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि ८ करोड लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेर देखाउनुपर्ने बताए।

उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको जिकिर गरे। मन्त्री बनाउनका लागि पार्टी नेतृत्वलाई २ करोड दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो आइतबार सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्बित भएका छन्। सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको, बरु आरोप लगाउने कांग्रेस पार्टीभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरूसँग रहेको दाबी गर्दै दोषीलाई कारबाही गरेर देखाउन पनि कांग्रेस नेतृत्वलाई चुनौती दिए।

सांसद झाले विवादमा परेपछि निलम्वबमा परेका सांसद श्रेष्ठसँग पार्टीले सम्बन्धविच्छेद गरेको पनि स्पष्ट पारे। छानबिनका लागि पार्टीका सदस्यहरुलाई प्रभाव पार्नसक्ने भन्दै आफूहरुले निलम्बित सांसद श्रेष्ठसँग सम्बन्धविच्छेद गरेर छानबिको प्रक्रियालाई अघि बढाएको पनि बताए। उनले आरोप पुष्टि भए निलम्बित सांसद श्रेष्ठमाथि कारबाही हुने पनि स्पष्ट पारे।

सांसद झाले निलम्बित सांसद श्रेष्ठलाई जोगाएर आफूहरुले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि बताए। व्यवसायी प्रसाईंसँगको अडियो प्रकरण सार्वजनिक भएलगत्तै आइतबार सांसद श्रेष्ठलाई निलम्बन गरी ७२ घण्टाभित्र छानबिन गरी आरोप पुष्टि भए कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर