८६ जना अधिकृत क्याडेटलाई उपसेनानी र ३५ जनालाई सहायक सेनानीको आयुक्त पद

भक्तपुर, खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित सि.सं. ६० अधिकृत क्याडेट तालिम तथा सि.सं. ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालाको प्रमुख आतिथ्यतामा बुधबार कार्यक्रम सम्पन्न भएको हो । समारोहमा तालिममा सहभागी अधिकृत क्याडेटहरुले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

त्यस अवसरमा सि.सं. ६० अधिकृत क्याडेट तालिमका ११ महिला, ७४ पुरुष तथा जाम्वियाका १ अधिकृत क्याडेट गरी जम्मा ८६ जना अधिकृत क्याडेटहरुले उपसेनानी र सि.सं. ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिमका ३५ जना अधिकृत क्याडेटहरुले सहायक सेनानी दर्जाको आयुक्त पद प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीले सि.सं. ६० अधिकृत क्याडेट तालिममा प्रथम हुने प्रतिष्ठान ज्येष्ठ प्रशिक्षार्थी कृष्ण खड्का, महिलातर्फ प्रथम हुने अधिकृत क्याडेट अप्सरा बुढाथोकी र सि.सं. ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट खगेन्द्र कार्कीलाई श्रेष्ठताको प्रतीकस्वरुप खुकुरी एवं छडीद्वारा पुरस्कृत गरे ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नवआयुक्त अधिकृतहरुलाई लामो अवधिको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै आगामी सैनिक जीवनमा सफलताका लागि शुभकामना व्यक्त गरे ।

आयुक्त पद प्रदान कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति महारथी प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मा, पूर्वप्रधानसेनापतिहरु, बलाधिकृत, बलाध्यक्ष, जनप्रतिनिधिहरु, नेपाल प्रहरीका महानिरीक्षक, रथी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक, पूर्व कमाण्डाण्ट, प्राध्यापकहरु, भक्तपुर जिल्लास्थित सरकारी पदाधिकारीहरु, नेपाली सेनाका अधिकृत, सञ्चारकर्मी एवं सैनिक सहचारीहरुलगायतको उपस्थिति थियो ।

सैनिक प्रतिष्ठानबाट हालसम्म महिला २५२ सहित ५३२० जना अधिकृत क्याडेटहरुले सफलतापूर्वक तालिम सम्पन्न गरिसकेका छन् । सन् २०१२ बाट विदेशी शिक्षार्थीहरुसमेत सम्मिलित गराई अधिकृत क्याडेट तालिम सञ्चालन गरिँदै आएकोमा हालसम्म विभिन्न राष्ट्रहरुका २४ जना विदेशी अधिकृतहरुले तालिम सम्पन्न गरिसकेका छन् ।

आज सम्पन्न समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले अधिकृत आधार तालिम सम्पन्न गर्ने मित्रराष्ट्र जाम्वियाका लेफ्टिनेण्ट आर्थर लुपियालाई ‘नेपाली मिलिटरी एकेडेमी मेडलियन’ ले प्रदान गरे । नवआयुक्त अधिकृतहरुलाई आ–आफ्नो अभिभावकलगायत निकटस्थ व्यक्तिहरूले दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *