राष्ट्रिय परिचयपत्र रुजु गर्ने काम विदेशी कम्पनीलाई दिनु आपत्तिजनक : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन्। पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई गरेको उल्लेख गर्दै उनले त्यो काम स्वीकार्य हुनै नसक्ने बताए।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानूनी रुपमा पनि अक्षम्य रहेको बताए। उनले लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाड्न नहुने पनि बताए।

अध्यक्ष केसीले नेपाली जनताले नयाँ पार्टीबाट केही आशा गरेको भए पनि उनीहरुले पनि पुरानै गल्ती दोहोर्‍याउने काम गरिरहेको दावी गरे।

अध्यक्ष केसीले भने, ‘राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र निकाय बनाउने पहल भइरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक छ। एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्वीकार्य छ। त्यसमाथि यो कारोबारको ठेक्का दिँदा देशको विधिविधानले स्थापित गरेको मापदण्डभन्दा घटाएर जम्मा ७ दिनको बोलपत्र गर्ने काम कानूनी रुपमा पनि अक्षम्य छ। देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति कीमार्थ स्वीकार्य छैन। जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानूनी संपरीक्षणमा ल्याउनु वाञ्छनीय हुन् । पुराना पार्टीहरुले नै गल्ती गरेका थिए। उनीहरुले आफ्ना स्वार्थका लागि नियम, कानूनहरु बनाउँथे। नयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्ख परेर हेरिरहेका थिए। खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्‍याे। त्यसकारणले यस्ता प्रवृत्तिलाई चाहिँ त्यसै छोड्न हुन्न।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर