सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु, पहिलो दिन सञ्जयलाई ३ स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन सञ्जय लामा ६-अन्डर ६६ को उम्दा प्रदर्शन सहित शीर्षस्थानमा रहेका छन्।

गोकर्ण गल्फ क्लबमा पहिलो दिन रवि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई ३ स्ट्रोकले पछि पार्दै सञ्जय शीर्षस्थानमा रहेका हुन्। रबि र राजेन्द्रले पहिलो १८ होलको खेल ३-अन्डर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। प्रोफेसनल गल्फर भु बहादुर गुरुङ तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ र छैटौं प्रतियोगिताको विजेता एमरच्योर सदभाव आचार्य २-अण्डर ७० सहित संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्।

सूर्य नेपाल प्रालिको प्रायोजन तथा प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा प्रो तोरण बिक्रम शाही तथा एमरच्योर गल्फरहरू युवराज भुजेल, टासी छिरिङ र विजय श्रेष्ठ आइनहाउसले १-अण्डर ७१ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे। इभन-पार ७२ को नतिजामा प्रो भुवन कुमार रोक्का र एमरच्योर सुरेश तामाङ संयुक्तरुपमा ११औं स्थानमा रहेका छन्।

उत्कृष्ट सुरुवात गरेका सञ्जयले फ्रन्ट नाइन बोगी रहित ४-अन्डर ३२ खेल्ने क्रममा तेस्रो, चौंथौ, छैटौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि १०औं, ११औं र १६औं होलमा एक-एक सट बचाए भने सञ्जयले १४औं होलमा बोगी खेप्दा ब्याक नाइन २-अन्डर मा पुरा गरे।

सिनियर गल्फर राजेन्द्र श्रेष्ठ प्रधानले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। बर्डीबाट दिनको सुरूवात गरेका उनले दोस्रो होलमा‌ बोगी खेपे। तर ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि चौथौं, पाँचौ र छैटौं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरे। त्यसपछि १४औं होलमा ट्रीपल बोगीको सामना गरे भने १५औं होलको वर्डीसहित ब्याक नाइन १-ओभर ३७ मा पुरा गरे।

रबिले पहिलो दिन फ्रन्ट नाइनमा सबैभन्दा उत्कृष्ट स्कोर निकाले। उनले पहिलोदेखि पाँचौ होलसम्म निरन्तर ५ बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा ५-अन्डर ३१ को लोभलाग्दो प्रदर्शन गरे। तर रबिले ब्याक नाइनमा लय गुमाउँदै २-ओभर ३८ खेले। १०औं र १५औं होलमा एक-एक सट बचाएपनि १३औं होलमा बोगी र १४औं होलमा ट्रिपल बोगी खेपे।

एमरच्योरतर्फ सुबाश र सदभाव २-अन्डर ७० सहित शीर्षस्थानमा रहेका छन्। टासी, विजय र युवराज एक स्ट्रोक पछि रहेका छन्।

७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र‌ ८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ र उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउँने छन्।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर