नेपालको अर्थ-कूटनीतिमा प्रभुत्व जमाउँदै चीन

केही वर्षमा नै विश्वकै शक्तिशाली देश र आर्थिक केन्द्र बन्ने लक्ष्य राखेको चीनले त्यसैअनुरुप आफ्ना योजना र विभिन्न देशमा आफ्नो उपस्थितिलाई बढाउँदै लगेको छ । एसिया मात्र नभई अफ्रिका र पश्चिमा राष्ट्रमा पनि व्यापारिक हिसाबले जबर्जस्त उपस्थिति देखाउँदै आएको चीनले छिमेकी देश नेपालमा पनि सबै क्षेत्रमा आफ्नो भूमिकालाई तीव्र रुपमा बढाइरहेको छ ।

एक दशक अघिसम्म नेपालको राजनीतिलाई आन्तरिक मामिला भन्दै वास्ता नगर्ने चीनले अहिले सत्ताको दाउपेचमा नै खुला रुपमा आफ्नो भूमिका बढाउँदै लगेको छ । केही वर्षअघि एमाले र माओवादी केन्द्रबीच एकीकरणको लागि सहजीकरण गर्दै नेकपा निर्माण होस् वा गत प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट पार्टीबीच एकता र नभए गठबन्धनका लागि चिनियाँ अधिकारीको दौडधूप बढेको देख्न पाइन्छ ।

याे पनि – नेपाललाई ॠणको भार बोकाएर व्यापार गर्दै चीन

राजनीति मात्र नभई, विकास निर्माणका आयोजनाको जिम्मा, पर्यटन, व्यापार लगायत क्षेत्रमा प्रभुत्व र डिजिटल अपराधका गतिविधिमा संलग्नतामा चिनियाँहरु देखिन थालेका छन् । हरेक क्षेत्रमा चिनियाँ गतिविधि र हस्तक्षेप बढ्दै जाँदा आगामी दिनमा नेपालको सार्वभौमसत्तामाथि नै खतरा पर्ने संकेत देखिएको छ । विशेषगरी नेपालजस्तो भूपरिष्ठित देशले सबै छिमेकीसँग सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा चिनियाँको बढ्दो गतिविधिले अन्य देशलाई चिढ्याउने सम्भावना बढेको हो ।

कुन कुन आयोजनामा छन् चिनियाँ कम्पनी ?

चिनियाँ सरकार र नेपाल सरकारबीच भएका सम्झौताका कारण धेरै पूर्वाधारका आयोजनामा चिनियाँ कम्पनीहरु संलग्न छन् । पछिल्लो समय चिनियाँ कम्पनीहरुले पनि ठूला आयोजनाको टेन्डर हात पार्दै आएका छन् । चिनियाँ कम्पनीहरुले अरुको तुलनामा कम मूल्यमा ठेक्का सकारेपछि आयोजनाको जिम्मा पाउँदै आएका हुन् । तर, चिनियाँ कम्पनीहरुले गर्ने कामको परिणाम मिश्रित छ । कुनै आयोजनमा चिनियाँ पक्षले समयमै काम सकाएका छन् भने कुनैमा अलपत्र पारेका छन् ।

याे पनि – बीआरआईमा नेपालको मौनतापछि जीडीआई अघि बढाउँदै चीन

चिनियाँ पक्ष तथा कम्पनीले जिम्मा लिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई सुरुङ निर्माण, काठमाडौंको चक्रपथको पहिलो खण्डलगायतको काम भएको छ भने दमक औद्योगिक पार्क, काठमाडौं–तराई मधेस द्रुतमार्गको सुरुङ निर्माणको काम र काठमाडौंको चक्रपथको दोस्रो खण्ड विस्तार, नारायणगढ–बुटवल सडक खण्ड, स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति, टिमुरेको सुख्खा बन्दरगाह निर्माण लगायत काम हालसम्म पूरा गरेको छैन ।

बाराको निजगढस्थित निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग । तस्वीर : नारायण न्यौपाने/ रासस

बीआरआईका योजना पनि अलपत्र

चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका सम्झौता कार्यान्वयनका लागि पहल नहुँदा ठूलो परियोजना, अनुदान सहायता, आयात निर्यातमा सहज पहुँच लगायत विषय अलपत्र परेका छन् । बीआरआई अन्तर्गतका सडक निर्माण, स्तरोन्नतिका काम हुन सकेका छैनन् भने केरुङ काठमाडौं रेलमार्गको सम्भावना अध्ययन गर्न बल्ल चिनियाँ टोली आइपुगेको छ ।

अर्कोतर्फ चीनले ऋण सहायतामा बनेका आयोजनाबाट ऋण तिर्न नै धौधौ पर्ने देखिएको छ । यसको पछिल्लो उदाहरण हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । यो विमानस्थल चिनियाँ बैंकसँग ऋण लिएर बनाइएको हो । विमानस्थल उद्घाटन भएको करिब ४ महिना पुग्न थाले पनि यहाँ अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । तर, चीनलाई ऋणको किस्ता तिर्नुपर्ने दिन नजिकिएको छ ।

याे पनि – बीआरआईमा जबर्जस्ती नेपाललाई जोड्दै चीन

फाइनान्सियल टाइम्सका अनुसार चीनको १० खर्ब (१ ट्रिलियन) अमेरिकी डलर लगानीको बिआरआई ‘इन्फ्रास्ट्रक्चर फाइनान्स’ कार्यक्रम खराब ऋणमा परिणत हुन थालेको छ । तीन वर्षमा ७८ अर्ब डलरभन्दा बढीको ऋण खराब भएको छ । न्युयोर्कस्थित अनुसन्धान संस्था रोडियमले संकलन गरेको तथ्यांकअनुसार सडक, रेलमार्ग, बन्दरगाह, विमानस्थल र विश्वभरिका अन्य पूर्वाधारका लागि चिनियाँ संस्थाबाट करिब ७८.५ अर्ब डलर ऋण सन् २०२० र यस वर्ष मार्च अन्तिमतिर पुनः वार्ता वा रद्द गरिएको थियो ।

पर्यटनदेखि उद्योगसम्म कब्जा

चिनियाँ नागरिकहरुले नेपालमा होटलदेखि रेष्टुरेन्टहरुमा लगानी बढाएका छन् । चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउँदा पनि चिनियाँकै होटलमा बस्ने र उनीहरुकै रेष्टुरेन्टमा खाने गर्छन् । पछिल्लो समय काठमाडौंको ठमेलदेखि पोखरा, चितवन लगायत पर्यटन हबमा चिनियाँ व्यापारीहरुले कब्जा जमाइसकेका छन् । त्यसकारण चीनबाट आउने पर्यटकले नेपालमा खर्च गर्ने रकम रेमिट्यान्सको रुपमा चीन नै फर्किरहेको छ ।

याे पनि – नेपालमा चीनको निर्लज्ज कूटनीतिक चाल

उद्योग तथा कलकारखामा पनि चिनियाँ लगानी भइरहेको छ । नवलपरासीमा होङ्सी सिमेन्ट र धादिङको ह्वासिन सिमेन्ट चिनियाँ लगानीमा नै स्थापना भएका हुन् । पछिल्लो समय होङ्सी सिमेन्टमा चिनियाँको एकलौटी गतिविधिले नेपाली साझेदार बाहिरिएका थिए । यो सिमेन्टले नेपाली बजारमा कब्जा जमाउन र अरु नेपाली लगानीकर्ताको सिमेन्ट उद्योग डुबाउन सुरुमा कम मूल्यमा सिमेन्ट बिक्री गर्ने र पछि आफ्नो एकलौटी बजार बनाएपछि मनपरी भाउ बढाउन खोजेको नेपाली साझेदारको भनाइ छ ।

अघोषित नाकाबन्दी

नेपालले विशेषगरी दुई नाकाबाट चीनसँग व्यापार गर्दै आएको छ, रसुवा र तातोपानी नाका । तर यी दुई नाका नै पछिल्लो केही वर्षयता ठप्पप्रायः छन् । चिनियाँ अधिकारीको नेपाल भ्रमण र नेपाली अधिकारीको चीन भ्रमणको क्रममा यी नाकालाई सहज बनाउन पटकपटक वार्ता पनि भएका छन् । तर त्यसअनुरुप नाकामा सहजता भने देखिएको छैन । पूर्व ओलाङचुङगोला देखि पश्चिममा हुम्लाको हिल्सासम्मका स्थानीय नाका पनि कोभिड लगायत कारण देखाउँदै चीनले हालसम्म बन्द गरेको छ । जसका कारण त्यहाँको जनजीवनमा नै प्रत्यक्ष असर परेको छ ।

राजनीतिमा उपस्थिति बढाउँदै

अन्य देशको आन्तरिक मामिलामा चासो नराख्ने चीनले नेपालको राजनीतिमा अहिले देखिने रुपमा नै भूमिका बढाएको छ । नेपालले अमेरिकी सहायता एमसीसी अनुदान लिने क्रममा होस् वा अमेरिकासँग सुरक्षा सम्झौतासम्बन्धी जीएसपीमा सहकार्यको विषय आउँदा चीनले खुला रुपमा नै आफ्नो धारणा राखेको थिए । त्यसबाहेक नेपालमा कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गराउन, सत्तामा कम्युनिष्ट पार्टीलाई पु¥याउन र राष्ट्रपति तथा प्रधानमन्त्री आफूअनुकूलको व्यक्ति बनाउन पनि चिनियाँ राजदूत लगायत चिनियाँ अधिकारीको भूमिका बढिरहेको छ । त्यसैले पछिल्लो समय चिनियाँ अधिकारीको नेपाल भ्रमण पनि बाक्लिएको छ ।

याे पनि – ‘जबर्जस्ती कूटनीति’ अपनाउँदै चीन

नेपालको अर्थ, कूटनीति र राजनीतिमा चिनियाँ भूमिका चिन्ताजनक रुपमा बढिरहेको विश्लेषकहरुको भनाइ छ । तर, नेपाल सरकार, राजनीतिक दलका नेतृत्व भने यसमा गम्भीर देखिएका छैनन् । विश्वमा बढ्दो ध्रुवीकरणका बीच नेपालले आफूलाई सन्तुलित राख्नुपर्नेमा त्यसो हुन नसकिरहेको विश्लेषकहरु बताउँछन् । अर्कोतर्फ नेताहरु नै आफ्नो सत्ता स्वार्थका लागि छिमेकी मुलुकको समर्थन पाउन र त्यसका लागि जस्तोसुकै गतिविधि तथा निर्णय गर्न उद्यत देखिन्छन् ।

यी पनि-

उत्तरी नाकामा चीनको अझै ‘अघोषित नाकाबन्दी’, मारमा स्थानीय र व्यवसायी ?

सूचना बिनै चीनद्वारा तातोपानी र रसुवागढी नाका बन्द, दशै र तीजको सामग्री रोकियो

फेरि उत्तरी नाकाहरु ठप्प, दसैंको मुखमा चीनको ‘अघोषित नाकाबन्दी’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर