८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित भयो : पूर्वअर्थमन्त्री पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गरेका छन्।

मंगलबार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण सार्वजनिक गरेको छ। उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र सङ्कट र मन्दीमा गएको सङ्केत गरेको उनले बताए।

पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी गरे। उनले पछिल्ला दुई आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको प्रमाणित भएको बताए।

उनले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र क्रमशः सङ्कट र मन्दीमा धकेलिरहेको आरोप लगाए। उनले एमाले नेतृत्वको सरकारले नाकाबन्दीको विरुद्धमा लड्दा, पुनर्निर्माण गर्नुपर्ने अवस्था र कोरोना महामारीको विरुद्धमा नेपाल जुधिरहेको अवस्थामा समेत अर्थतन्त्र बिग्रनबाट जोगाएको बताए।

उनले मुलुक आर्थिक रूपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुग्दासमेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतीका बारेमा कुनै चासो र चिन्ता नभएको बताए। उनले सरकारले अर्थतन्त्रको चुनौतीबाट मुुलुकलाई जोगाउन कुनै पहलकदमी नगरेको बताए।

उनले सरकार अर्थतन्त्रका चुनौती समाधान गर्नुुपर्ने अवस्थामा बेसरोकारको अवस्थाबाट गुज्रिरहेको बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या मुलुकको लागि चिन्ताको विषय भएको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर