राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणको म्याद एक वर्ष थपियो

नेपाली सेनाको समन्वयमा निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को म्याद थप गरिएको छ।

शैक्षिक सत्र २०८०/०८१ देखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि निर्माणको काम बाँकी रहेपछि एक वर्ष म्याद थप गरिएको हो। म्याद थपसम्बन्धी सूचना रक्षा मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ।

मन्त्रालयले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ को दफा (२५) को उपदफा (१) मा संशोधन गर्दै म्याद थपको सूचना निकालेको हो।

विश्वविद्यालयको भौतिक संरचना तथा पाठ्यक्रम निर्माणका लागि आन्तरिक तयारी भइरहेकोमा तोकिएको म्यादमा निर्माणको काम नसकिएपछि म्याद थप गरिएको हो।

सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति, कार्यक्रम र बजेटमा यो योजना समावेश भई निर्माण कार्य अघि बढेको थियो।

नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै गएपछि प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी गरिएको थियो। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पेरुंगेडाँडामा निर्माण हुने परियाेजनाकाे प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका थिए।

नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय संचालनमा ल्याइने छ’ भनी समावेश गरिएको थियो । त्यसपछि विनियोजित बजेटबाट उक्त विश्वविद्यालयको विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शिलान्यास गरिएको थियाे ।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्न उक्त विश्वविद्यालय स्थापना गरिएको हो।

निर्माण, निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायहरुका अधिकृतहरुको राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने, विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिहरुका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध संजाल विकसित गर्न उक्त विश्वविद्यालयले सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।

साथै सेनाले रणनीतिक संस्कार विकास एवं उच्चस्तरको नागरिक-सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागिएको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर