सेनाले संकलन गर्‍याे हिमालबाट करिब साढे २९ हजार किलो फोहोर

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान-२०२३’ मार्फत हालसम्म २९ हजार ४०२ किलोग्राम फोहोर संकलन भएकाे छ। सेनाका अनुसार सगरमाथा र ल्होत्से हिमालबाट ७ हजार ६३२, बरुन्चे हिमालबाट १८ हजार ५२० र अन्नपूर्ण हिमालबाट ३ हजार २५० किलोग्राम फोहोर संकलन भएको हो।

हिमाल सफाइका लागि ३ वटा समूहमा परिचालित टोलीले वैशाख २४ गतेसम्म उक्त परिमाणको फोहोर संकलन गरेको हो।

अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदान गर्नुका साथै हालसम्म भइरहेको कार्यप्रगतिबारे जानकारी लिन बलाध्यक्ष रथी सीताराम खड्काले वैशाख २३ गते अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए। भ्रमणमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि सहभागी थिए।

अन्नपूर्ण हिमाल सफाइ कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि सहयोग पुर्‍याएको छ। बलाध्यक्षको भ्रमणदलमा पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँ र अभियानका निर्देशक सहायक रथी सुन्दरकुमार पाण्डे सहभागी थिए। अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीका सदस्यहरू सहसेनानी सुमन पाण्डे, प्यूठ मानसिंह चौधरी, सिपाही नवराज राना र सिपाही ज्ञानेन्द्र डाँगीले वैशाख ४ गते उक्त हिमालको सफल आरोहण गरेका थिए।

२०७९ चैत्र १४ गते प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा झण्डोत्तोलन गरी सुरु भएको उक्त अभियानबाट करिब ३५ टन अर्थात् ३५ हजार किलो फोहोर संलकन गर्ने लक्ष्य रहेको छ। विश्व वातावरण दिवस (जुन ५) मा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरूमा थुप्रिएको फोहोर हटाउन केही सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर