गृहमन्त्री श्रेष्ठले गरे बग्गीखानाको अनुगमन, सवारी साधन कवाडीमा परिणत हुन नदिने आश्वासन

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको रामशाहपथस्थित बग्गीखानाको अनुगमन गरेका छन्।

नवीकरण खारेज भएका र चोरीका सवारी साधनहरू कवाडीमा परिणत भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार बिहान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगी ती सवारी साधनको अवस्थाबारे जानकारी लिएका हुन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित त्यहाँ पुगेका उनलाई त्यस्ता सवारी साधनहरू लिलामी गर्न मिल्ने गरी कानूनी व्यवस्था गरिदिन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आग्रह गरेका थिए।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता सवारी साधनहरूलाईकवाडी को रूपमा राख्न नमिल्ने उल्लेख गर्दै ती समस्या समाधान हुने गरी छिट्टै कानूनी व्यवस्था गर्ने आश्वासन दिएका थिए। उनले त्यसका लागि समस्या र समाधानका उपायहरूसहितको बुँदा मन्त्रालयमा बुझाउन पनि सो कार्यालयलाई निर्देशन दिए।

यता सो ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोखरेलले भने आफूहरूले लिलामी गर्न मिल्ने कानून नभएका कारण त्यस्ता सवारी साधनहरू वर्षौंसम्म होल्ड गरेर राख्नुपर्ने अवस्था आएको उपप्रधानमन्त्री श्रेष्ठलाई ब्रिफिङ गरेका थिए। उनले त्यसका लागि विशेष कानूनको व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि बताए।

सो कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकाभित्र मात्रै नवीकरण खारेज भएका र चोरीका सवारी साधनहरू करिब २ हजार १ सय वटा थन्किएर बसेका छन्। तर कानूनको अभावमा ती सवारी साधनहरू ट्राफिक प्रहरी कार्यालयले लिलामी गर्न सक्ने अवस्था नभएको पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर