स्काउटलाई युवाहरूलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यम बनाउनुपर्छ : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवाहरूलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यमको रूपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल स्काउटका संरक्षकसमेत रहेका मन्त्री लिम्बूले ‘एक घर ः एक स्काउट’ को अवधारणाअनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरू उत्पादन गर्न सकिने बताए।

नेपाल स्काउटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरूलाई अनुशासित र राष्ट्रप्रति जिम्मेवार बनाउन सहज हुने बताए।

मन्त्री लिम्बूले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानूनहरूलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

मन्त्री लिम्बूले मुलुकलाई समृद्ध बनाउन नेपाल स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वाससमेत व्यक्त गरे।

नेपाल स्काउट अन्तर्राष्ट्रिय संस्था पनि भएकाले विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग छलफल गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि पहल गर्न सकिने उनको भनाइ थियो।

मन्त्री लिम्बूले मुलुकको समृद्धि र विकासका लागि संकल्प लिएर अघि बढ्न पनि नेपाल स्काउटलाई आग्रह गरे।

कार्यक्रममा मन्त्री लिम्बूलाई नेपाल स्काउटको संरक्षकको रूपमा दीक्षित गरिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *