पाेखरा र गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे कन्तबिजाेक!

ठूलो विदेशी ऋण लगानीमा बनेका दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लगानी डुब्ने जोखिम बढेको छ। चिनियाँ एक्जिम बै‌ंककाे ऋणमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान सुरु नै भएको छैन भने आन्तरिक उडान पनि आशलाग्दो छैन।

यस्तै एशियाली विकास बैंकको ऋण अनुदानमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सीमिति रूपमा हुँदै आएको अन्तर्राष्ट्रिय उडान हाल आएर स्थगित भएको छ। यसबाट विदेशी ऋण लगानीमा बनेका यी दुई विमानस्थल ऋणको पासो बन्ने डर बढ्दै गएको छ।

काठमाडौंपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा। होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि यहाँ अर्बौं अर्बको लगानी भएको उनी बताउँछन्।

अध्यक्ष शर्मा भन्छन्, ‘विमानस्थल सञ्चालनमा आएपछि यसका कारणले मात्र दैनिक करिब २० हजार व्यक्तिको चहलपहल र चाप हुने हाम्रो आकलन थियो। यसको ठूलो आशाले यो क्षेत्र व्यावसायिक हव बनिसकेको पनि छ,’ शर्माले भने, ‘तर पनि अहिले हामीले सोचेजस्तो गरी विमानस्थल सञ्चालनमा आउन सकेन। यसले त हामीलाई निराशा मात्र दिएको छ। यतिका धेरै लगानी डुब्ने त्रास दिन प्रतिदिन बढ्दो छ। तर हामी उद्योगी व्यवसायीसँग अरू कुनै विकल्प नै छैनन्।’

तर निजी क्षेत्र तथा यहाँका नागरिकको यो आशा र खुसी वर्ष दिन पनि टिकेन। आज विमानस्थल सञ्चालनमा आएको वर्ष दिन पुगेको छ। तर देशको अर्थतन्त्रको कम्तीमा पनि ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रकै तर्फबाट यस्ता निराशा व्यक्त गर्नुपर्ने अवस्था आएको छ। विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन। यहाँ जहाज उडेका छैनन्। आक्कलझुक्कल विमान उडाएको अल जाजिराले पनि अहिले उडान रोक्ने सन्देश दिइरहेको छ।

जजिरा एयरवेजले उडान बन्द गर्नुको कारण व्यावसायिक पक्ष मात्र उल्लेख गरे पनि विभिन्न तर्कवितर्क सुनिएका छन्। एकथरीले पर्याप्त यात्रु नपाएको भनिरहेका छन् भने अर्कोथरीले रातिको समयमा विमानस्थलले उडान अनुमति नदिएकोले बन्द गरेको बताइरहेका छन्।

ऋणमा बनेको विमानस्थल सञ्चालनमा सरकारले पैरवी नगरेको गुनासो शर्माले गरे। विमानस्थलमा निर्माणका लागि लगानी गरेको एडीबीले सम्भाव्यता अध्ययन नगरी लगानी गरेको होला भन्ने कल्पना त गर्न सकिँदैन तर किन लगानीअनुसार यो विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन भन्ने कुरा बडो अन्योलपूर्ण रहेको उनको भनाइ छ।

उनी भन्छन्, ‘एयर रुटको कुरा, भारतीय अवरोधका कुरा सबै मिथ्या हल्ला मात्र हुन्। यस विषयमा बुझेर मात्र एडीबीले लगानी गरेको भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौं,’ शर्माले भने, ‘नेपाल सरकारले यसमा अग्रणी भूमिका निर्वाह गरेर यो समस्यालाई साम्य गर्नुपर्छ। विमानस्थल सञ्चालन गर्नुबाहेकको अर्काे विकल्प छैन। हामीले सरकारसँग गर्ने माग पनि यही हो।’

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमणका क्रममा उनले भारतसँग दह्रो रूपमा कुरा उठाउन र यसलाई सञ्चालनमा ल्याउन ठोस पहल चाल्न सुझाव दिए। उनले भने, ‘मेरो यो सुझाव छ कि प्रधानमन्त्रीज्यूले आफ्नो भारत भ्रमण नै यही विमानस्थलबाट गर्नुहोस् र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने अभियान थाल्नुहोस्।’

अर्बौंको लगानी जोखिममा

विमानस्थल निर्माणसँगै भैरहवा तथा यस आसपासका क्षेत्रमा तारे होटल खुल्ने क्रम बढ्यो। विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन्। यिनीहरूमा करिब ३० अर्ब रुपैयाँ लगानी भएको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन्। यसबाहेक २० अर्ब रुपैयाँ बढीका २१ वटा होटल अहिले पनि निर्माणाधीन रहेको उनको भनाइ छ।

‘विमानस्थललाई नै लक्षित गरी गरिएका अर्बौंको लगानी अहिले विमानस्थल सञ्चालनमा नआउँदा डुब्ने खतरा बढेको छ,’ श्रेष्ठले भने, ‘व्यवसायीहरूमा बैैंकको ब्याज तिर्न नसकेर तनाव बढ्दै गएको छ। कतिपय त पलायन हुने अवस्था आएको छ।’

उनले विमानस्थल सञ्चालनका लागि क्षेत्रीयस्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो गरे। ‘सबै ठीक छ। विमानस्थल पनि तयार छ। विदेशी विमानभन्दा पनि आफ्नै देशका विमानले पत्याउनुपर्‍याे,’ उनले भने।

उनले पूर्वी एशियामा रहेका बौद्ध देशहरूबाट पर्यटक ल्याउने गरी सरकारले पहल गर्न आवश्यक रहेको औंल्याए। ‘हामीले पटक–पटक सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरण, नेपाल सरकारसँग यी सब कुरा उठाएका हुन्छौं,’ उनले भने, ‘तर के कति कारणले सञ्चालनमा आउन सकेको छैन, हामीले बुझेका छैनौं।’

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई मार्गबाट यहाँ आउने पर्यटकका लागि केन्द्रमा राखेर बुटवलमा अर्बौंको लगानीमा दुईवटा केबलकार निर्माणाधीन अवस्थामा छन्। बुटवलबाट पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुर पुग्ने केबलकार अब सञ्चालनको अन्तिम तयारीमा रहेको छ।

कम्पनीले तीन अर्ब ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको केबलकार तीन किलोमिटर लम्बाइको हुनेछ। केबलकारको बुटवल–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ।

करिब तीन किलोमिटर लामो केबलकारपछि पुगिने वसन्तपुर डाँडामा पर्यटकलाई आकर्षित गर्न होटल, मनोरञ्जन पार्क तथा कामाख्यादेवीको मन्दिरसहितका संरचना निर्माण भइरहेका छन्। वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहने भएको छ।

त्यस्तै सिद्धार्थ केबलकार प्रालिले बुटवलको मणि मुकुन्दसेन उद्यान फूलबारीबाट उत्तर–पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन गर्ने गरी निर्माणाधीन केबलकार पनि अन्तिम चरणमा पुगेको छ। केबलकारको लम्बाइ दुई किलोमिटर ९० मिटर रहने छ। करिब डेढ अर्ब रुपैयाँको लागतमा बन्न लागेको केबलकारमा ४० जनाको लगानी छ।

रुट हैन समस्या
विमानस्थल प्रमुख हंशराज पाण्डेका अनुसार बाहिर हल्ला भएजस्तो रुटकै समस्याका कारण विदेशी विमान नआएको सत्य होइन। विमानलाई काठमाडौंभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने पाण्डेको भनाइ छ।

‘सिमराबाट छिरेका विमानलाई काठमाडौं जानुभन्दा सहज भैरहवा आउन हुन्छ। दूरीका दृष्टिले केही टाढा रहे पनि काठमाडौंजस्तो अवरोध यहाँ छैन,’ पाण्डेले भने, ‘आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ। यहाँ त्यस्तो कुनै समस्या छैन।’

लिमा–६२६ हुँदै बाहिर उड्ने विमानलाई भैरहवाबाट उड्दा पनि दूरी छोटिने उनको भनाइ छ। ‘यो कुरा पाइलटले पनि बुझेका हुन्छन्। त्यसकारण रुटकै कारण विमानस्थल नचलेको निराधार हल्ला हो,’ पाण्डेले भने।

उनले लिमा–६२६ लाई दुइतर्फी गर्न सके यसले भैरहवा विमानस्थललाई थप सहज बनाउने बताए। भैरहवा आउने अन्तर्राष्ट्रिय विमानलाई भैरहवामाथिकै रुट दिए पनि विमानलाई तोकिएको उचाइकै कारण अवतरणका लागि आकाशमा फन्को लगाउनुपर्ने र यसले पनि उत्तिकै खर्च बढाउने पाण्डेको तर्क छ।

विमानस्थल सञ्चालनका क्रममा हिउँद महिनामा समस्या आउने पाण्डेको भनाइ छ। जाडोमा यहाँको भिजिबिलिटी या त शून्य हुन्छ या राम्रै हुने गरेको छ। इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) ले अवतरण गराउँदा पनि शून्य भिजिबिलिटीमा गराउन नसकिने उनको भनाइ छ।

‘अहिले नेपालका विमान पर्फमेन्स बेस नेभिगेसन (पीबीएन) मा उडान भरिरहेका छन्,’ उनले भने, ‘आईएलएसले शून्य भिजिबिलिटीमा अवतरण गराउन सकिँदैन तर यसले पीबीएनलाई थप सहज भने बनाउँछ।’

विमानस्थलको सुविधा एक वर्षलाई थप
भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक पाण्डेले यो सुविधा एक वर्षका लागि थप भएको जानकारी दिए। वि.सं. २०७९ जेठ १४ गते लागू भएको यो सुविधा यही १३ गते सकिँदै थियो। अब यो सुविधा २०८१ को जेठ १३ गतेसम्म उपभोग गर्न पाइने पाण्डेले बताए। यसैगरी नेपाल वायुसेवा निगमले लिने ग्राउन्ड हयान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिँदै आएको छ।

वि.सं. २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल २०२३ सालमा आन्तरिक विमानस्थलका रूपमा हालको स्थानबाट सञ्चालनमा रहेको छ। वि.सं. २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए। करिब ३५ अर्ब रुपैयाँको लागतमा निर्माण भएको विमानस्थलको गत वर्ष आजकै दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।

करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे रहेको छ। फोर ई क्याटोगरीको विमानस्थलमा नवौं क्याटगोरीको दमकल रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरहको उडान र अवतरण हुन सक्ने यहाँ चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँचवटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ।

प्रधानमन्त्रीलाई निजी क्षेत्रको ध्यानाकर्षण
विमानस्थल नियमित, डाइभर्ट भएका तथा आकस्मिक अवतरणका लागि पूर्ण रूपमा तयार रहेको छ। २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस, २०८० मूल समारोहका सहभागी हुन वैशाख २२ गते लुम्बिनी आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले भेटर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि ज्ञापनपत्र नै बुझाए। उनीहरूले ज्ञापनपत्रमा प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणको सुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने मागसमेत राखेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई सिद्धार्थ उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलले भेटी विमानस्थल पूर्ण रूपले सञ्चालनका लागि ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा राष्ट्रिय ध्वजावाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायुसेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतारको उडान सुरु गर्नुपर्ने र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यही भएकाले विश्वका सबै बुद्धिष्ट मुलुकहाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरिएको छ।

ज्ञापनपत्रमा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु ६० अर्ब बढी लगानी भइसकेकाले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएकाले सो लगानी सुरक्षित गराउने वातावरणका लागि पहल गर्नुपर्ने संघले माग गरेको छ।

वैकल्पिक विमानस्थल पनि बनाइएन

गत वर्ष फागुन १४ गते दिउँसो राजधानी काठमाडौंको मौसम खराब भयो। सोही समयमा भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौं उडेको फ्लाई दुबईको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेनन्। त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि दुवै विमान भारतको लखनउ ‘डाइभर्ट’ भए।

यस्तै गत वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगलागी भयो। विमान चालकले नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन्। विमान भैरहवाकै आकाश हुँदै आफ्नो गन्तव्यतर्फ लाग्यो। तर एक वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयास नै गरेनन्।

नेपाल आउने अन्तर्राष्ट्रिय विमानले विमान डाइभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउनुपरे नेपाली विमानस्थलभन्दा नेपाल बाहिरकै विमानस्थललाई पहिलो प्राथमिकतामा राख्ने गरेका यी उदाहरण घटना मात्र हुन्। नेपाल आउने प्रत्येक अन्तर्राष्ट्रिय विमानहरूले वैकल्पिक विमानस्थल चयन गर्नुपर्ने हुन्छ।

प्रायः सबै विमानले वैकल्पिक विमानस्थलको रूपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राख्ने गरेका पनि छन्। वैकल्पिक विमानस्थलमा परे पनि अहिलेसम्म यहाँ ‘डाइभर्ट’ भएको एउटा पनि विमान अवतरण भएका छैनन्।

‘हामी प्रत्येक दिन २४ घण्टा नै विमानस्थल तयार राखेका हुन्छौं। सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन गरेका हुन्छौं,’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले भने, ‘सबै पूर्वाधार हुँदाहुँदै पनि यहाँ विमान आउन रुचि देखाउँदैनन्।’

विमानस्थल प्रमुख पाण्डेकै शब्दमा ‘बिजनेस’ नपाएका कारण विमान यहाँ आउन रुचि नदेखाएका हुन्। विमानस्थलमा डाइभर्ट भएर आउने विमान र यसका यात्रु विभिन्न सुरक्षा एवं प्राविधिक जाँचबाट गुज्रिनुपर्ने उनको भनाइ छ।

‘ठूला विमानमा तीन सय बढी यात्रु रहेका हुन्छन्। यी यात्रुलाई तारे होटलमा राख्नुपर्ने हुन्छ। यसका लागि होटलसँग कम्पनीले सम्झौता गरेका हुन्छन्,’ पाण्डेले भने, ‘भैरहवाको हकमा अहिलेसम्म कुनै होटलसँग यस किसिमको सम्झौता भएको मेरो जानकारीमा छैन।’

भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुप¥यो भने यात्रुलाई कहाँ राख्ने, चालकदलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकाले पनि विमान यहाँ आउन नचाहेको जानकारहरू बताउँछन्। भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौंमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन।

यसबाहेक नेपाल–भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ। नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य धेरै सस्तो छ। नेपालमा हवाई इन्धनको मूल्य एक हजार तीन सय ६० डलर प्रतिहजार लिटर रहेको छ भने भारतमा सोही परिमाणको इन्धनको मूल्य नौ सय ९८ डलर मात्र रहेको छ । ठूलो परिमाणमा इन्धन राख्ने विमानलाई भारतको इन्धनको कारण लाखौं रुपैयाँ बचत हुने भएकाले पनि उनीहरुको रोजाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्दैन।

विमानस्थल प्रमुख पाण्डेका अनुसार पाइलटले जहाज जहाँ लैजान्छु भन्छ त्यहीँ जान पाउँछ। हामीले गौतमबुद्ध नै आऊँ भन्न मिल्दैन। दूरी र समयको हिसाबले लखनउभन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निकै नजिक पर्छ। तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौंबाट डाइभर्ट भएका जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा लखनउ नै लैजाने गरेका छन्।

जहाज डाइभर्ट भएर गौतमबुद्धमा अवतरण भएपछि पुनः उडानका लागि इञ्जिनियर चाहिन्छ। त्यो सम्बन्धित कम्पनीले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर कि त गौतमबुद्धबाट उडान गरिरहेका एयरलाइन्स कम्पनीसँग इञ्जिनियरका लागि कम्पनीले सम्झौता गर्नुपर्छ। अन्यथा त्यस किसिमको प्राविधिक जनशक्ति आफैं व्यवस्था गर्नुपर्ने हुन्छ। अहिलेसम्म गौतमबुद्ध विमानस्थलबाट उडान गरिरहेको जजिरा एयरसँग उनीहरूको सम्झौता नभएका कारण पनि यहाँ अवतरण नगरेको हुनसक्ने विमानस्थलका कर्मचारीहरू बताउँछन्।

आफ्नो इञ्जिनियर नभएको ठाउँमा जहाज अवतरण गरेको अवस्थामा पुनः उडान गर्न नपाउने हुँदा जहाज त्यहीँ रोकिने र त्यसका लागि लामो प्रक्रिया हुने हुँदा सहजताका लागि लखनउ नै रोज्ने गरेका जानकारहरू बताउँछन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दैछ चिनियाँ ऋणको त्रास

गत १७ पुसदेखि सञ्चालनमा आएको पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेका छैनन् । चिनियाँ ऋण लगानीमा निर्माण गरिएको यो विमानस्थलमा आन्तरिक एयरलाइन्स कम्पनीले मात्र उडान गर्दै आएका छन् । गत १ माघमा यती एयरलाइन्सको विमान उक्त विमानस्थलमा अवतरण गर्नु केहीअघि सेती खोंचमा दुर्घटनाग्रस्त भएपछि विमानस्थलप्रतिको धारणा झनै बिग्रिएको छ ।

सरकारले गौरवको आयोजनाको रुपमा निर्माण गरेको यो विमानस्थल किन नामअनुसार सञ्चालन हुन सकेको छैन त रु यसको कारण हो, सरकारको पूर्वतयारीको कमी । हालै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यो तथ्यलाई स्वीकार गरेका छन् ।

केही दिनअघि पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताए । कुनै पनि आयोजनाको पूर्वतयारी प्रमुख हुन्छ । विमानस्थल निर्माण हुनुअघि नै यहाँ हुने उडानबारे पूर्वसम्भाव्यता अध्ययन हुनु जरुरी छ । तर, पोखरा विमानस्थलको सम्बन्धमा निर्माण सकिएपछि बल्ल उडानबारे तयारी र पहल गर्न थालेको छ ।

मन्त्री किराँतीकै अनुसार पनि पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सीधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको छ । ‘पोखरादेखि सीधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरेका छौँ, यही मितिदेखि भनेर भन्न नसके पनि अत्यधिक कोसिस मन्त्रालयले गरिरहेको छ, हाम्रोतर्फबाट यथाशक्य चाँडो गर्नुपर्दछ भन्ने धारणा छ,’ उनले भने ।

मन्त्रालयले बल्ल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन निर्देशन दिएको छ । जब कि निर्माण अघि हुनुपर्ने यी काम हुन् । पोखराका पर्यटन व्यवसायीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गर्दै आएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अर्को समस्या हो, चराचुरुङ्गी र जंगली जनावर । निर्माण सुरु अघि नै यो समस्या उल्लेख गरिए पनि त्यसलाइ नजरअन्दाज गरिएको छ । विमानस्थलको पूर्वी खण्डमा विजयपुर खोला र दक्षिणतिर सेती नदी पर्छ । विजयपुर खोला पार गर्नासाथ धावनमार्ग आइपुग्छ । तर यी दुवै खोला फोहोर हुँदा, मरेका जीवजन्तु फाल्दा आहारका लागि चरा आकर्षित हुन गरेका छन्, जुन विमानस्थलका लागि ठूलो चुनौती हो ।

यसले उडान र अवरणमा समस्या हुने विमानस्थलका कर्मचारी बताउँछन् । केहीदिन अघि अवतरणको क्रममा रहेको जहाजसँग चरा ठोक्किएको पनि थियो । विमानस्थल नजिकका झाडीमा स्यालको बिगबिगी छ । राति स्याल विमानस्थलमा पस्ने गर्दा रात्रिकालीन उडानमा समस्या हुन्छ ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।

ग्रेस पिरियड चाँडै सकिँदै छ । प्राधिकरणका अनुसार पहिलो किस्ता बापतको ५ करोड ३० लाख २८ हजार ४६१ युआन आगामी चैतमा तिर्नुपर्ने छ । दोस्रो किस्ता त्यसको ६ महीनापछि तिर्नुपर्छ । प्राधिकरणले एक्जिम बैंकको ऋण अर्धवार्षिक किस्तामार्फत चुक्ता गर्नुपर्छ ।

पोखरा जस्तो पर्यटकीय हबमा बनेको विमानस्थल भएकाले सरकारले यसबाट पर्याप्त लाभ लिनसक्ने सम्भावना पनि छ । तर, त्यसका लागि अहिले देखिएका तमाम समस्या समाधान गर्नु ठूलो चुनौती हुनेछ । पहिला विमानस्थल बनाइहाल्ने र त्यसपछि समस्या समाधान गर्नतर्फ लाग्ने अहिलेको प्रवृत्तिले भने यो आयोजना कतै ‘सेतो हात्ती’ त बन्ने होइन भन्ने आशंका पनि छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ डा। गोविन्दराज पोखरेल पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय÷आन्तरिक उडानको बृहत सम्भावनामा डरलाग्दो कालो बादल देखिएको बताउँछन् । व्यापारघाटा र सार्वजनिक ऋण निरन्तर बढ्दो अवस्थामा यो विमानस्थललाई गाह्रो पर्ने उनको भनाइ छ ।

हालको अवस्थाका कारण पनि पोखरा विमानस्थलकै आम्दानीबाट सरकारले ऋण चुकाउन सक्ला त भने आशंका पनि बढिरहेको छ । त्यसैले बढीभन्दा बढी उडान र कार्गो ढुवानीमा जोड दिनुपर्ने विश्लेषकहरुको भनाइ छ । भूगोल र विमानस्थलको अवस्थितिका कारण यहाँ करिब १५० सिटका एयरबस ३१९, एयरबस ३२० र बोइङ ५७५ बराबरकै क्षमताका विमानहरू मात्रै अवतरण गर्न सक्छन् । त्यसकारण पनि विमानस्थलबारे विभिन्न आशंकाहरु हुँदै आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर