राष्ट्रिय गौरवको आयोजना भनेर जथाभावी नामकरण नगरौं : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभावी रूपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामकरण गर्न नहुने बताएका छन्।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाहरूको स्पष्ट परिभाषा तय गरी त्यसभित्र पर्नेलाई मात्रै सो नामकरण गर्न उपयुक्त हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

मंगलबार संघीय संसद राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले मन्त्री, प्रधानमन्त्रीलाई लाग्ने बित्तिकै राष्ट्रिय गौरवको आयोजना बनाउने काम गर्न नहुने बताए।

सयौंको संख्यामा कुनै पनि देशमा राष्ट्रिय गौरवको आयोजना हुनै नसक्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले ‘जति थोरै हुन्छ, त्यो गौरवको हुन्छ’ भन्ने मान्यताका साथ अघि बढ्न पनि सरकारलाई सुझाव दिए।

राष्ट्रिय गौरवको आयोजनाको परिभाषालाई सरकारले थप व्याख्या गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष तिमिल्सिनाले आयोजनाको काम पूरा नहुँदासम्म जिम्मेवार पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्ने बताए। त्यसो गरियो भने जवाफदेही सोही पदाधिकारी हुने भएकाले काम समयमै सम्पन्न गर्न सहज हुने उनले बताए।

अध्यक्ष तिमिल्सिनाले विकास, निर्माणको काममा सकेसम्म स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *