नेपालमा अमेरिकी सेना र अधिकारीको गतिविधि बढेकोमा पूर्वप्रधानमन्त्री खनालको आपत्ति

भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी (स्टेट पार्टनरसीप प्रोग्राम) पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् ।

३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गरे । नेता खनालले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेकोमा नेता खनालको आपत्ति थियो । उनले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताए । उनले नेपालमा अमेरिकीहरुको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरु सचेत रहनुपर्ने बताए ।

‘हाम्रो देशलाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोज्दैछन् । एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् । अमेरिकाका रक्षामन्त्रीहरु आउँछन्, सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन् किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोशिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ,’ नेता खनालले भने ।

सम्मानित नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको बताए । यो प्रकरण निष्पक्ष रुपमा छानबिन भइ सतहमा पुग्नुपर्ने उनको भनाई थियो । यस प्रकरणमा मुछिनेहरुको संख्या बढ्दै गएको र ठूला नेताहरु पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचार काण्डलाई निष्पक्ष रपमा टुंगोमा पु¥याउन आग्रह गरे । उनले निष्पक्ष छानबिन नभए आफ्नो पार्टीले सहन नसक्ने चेतावनी समेत दिए ।

सम्मानित नेता खनालले ५ वर्ष भन्दा पहिलाका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागेको भन्दै आफूलाई त्यो मान्य नहुने बताए । उनले माओवादीले होनहार तीन सय क्रान्तिकारीहरुको हत्या गरेको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर