सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित हुन दिँदैनौं : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ। एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन्।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने बताए। सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसदबाट पारित गर्न नहुने पार्टीको अडान रहेको बताए।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलपूर्ण र दिशाहीन रहेको बताए।सरकारको सो नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम स्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको उनको दाबी थियो।

नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल दुई वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षकै कार्यक्रम राखेको हुन सक्ने बताए। अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम २० वर्षे, पञ्चवर्षीय वा के हो भन्ने यकिन नभएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *