के मदन राईले बालिकाहरूलाई यौन दुर्व्यवहार गरेका हुन् ? यस्तो छ स्थलगत अध्ययन प्रतिवेदनको निष्कर्ष

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२, सोल्मास्थित शुभद्रा-मदन (शुभम) फाउण्डेशनमा भएको भनिएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सार्वजनिक अध्ययन प्रतिवेदनमा आफूलाई कृषि वैज्ञानिक भन्ने मदन राईले आफ्नो र आफ्नो श्रीमतीको नामबाट स्थापना गरेको शुभद्रा मदन फाउण्डेशनमार्फत सञ्चालन गरेको विद्यालयमा अध्ययनरत छात्राहरूलाई निर्वस्त्र भई अश्लील शब्दहरू प्रयोग गर्ने, निर्वस्त्र भई मसाज गर्न लगाउने, संवेदनशील अंगहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको पाइएको उल्लेख गरिएको छ ।

स्थलगत अध्ययन समितिको प्रतिवेदनबारे जानकारी दिँदै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष राजेश शर्माले विद्यालयको प्रार्थनाका समय वा अन्य कुनै समयमा पनि बालबालिकाको अगाडि निर्वस्त्र हुने, बालबालिकाहरूलाई लहरै राखेर यौनजन्य गतिविधि गर्ने/गर्न लगाउने गरेको पाइएको बताए ।

उनले राईले शहरी शिक्षाका लागि भन्दै ललितपुरस्थित आफ्नै घरमा लगेर समेत किशोरीहरूमाथि दुर्व्यवहार गर्ने गरेको र शारीरिक सम्पर्कपछि रजश्वला भए/नभएको बारेमा पनि सोधपुछ गर्ने गरेको पाइएको बताए । अध्ययन समितिले विद्यालय हाताभित्रै होमस्टे, क्याफे सञ्चालन गरेको पाइएको र उक्त क्याफेहरूमा कर्मचारीको रूपमा बालबालिका र किशोरीहरूलाई काम लगाउने गरेको पाइएको बताएको छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईले मदन राईलाई पक्राउ गरेपछि बालबालिकाहरूलाई त्यहाँका गतिविधि नभन्न दबाब र धम्की दिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । साथै अध्यक्ष राईमाथि समेत यौन दुर्व्यवहारको आरोप लागेको तर जाहेरी दर्ता नभएका कारण मुद्दा दर्ता प्रक्रिया अघि नबढेको अध्यक्ष शर्माले बताए ।

विद्यालयभित्र जोसुकैले पनि प्रवेश गर्न पाउने भएकाले बालबालिकाहरू थप जोखिममा रहेको निस्कर्ष प्रतिवेदनको छ । त्यस्तै विद्यालयले सञ्चालन गरेको आवास गृह कतै पनि दर्ता नगरेको पाइएको अध्यक्ष शर्माले बताए ।

अध्ययन समितिले पीीडत बालबालिकाको तत्काल उद्धार गर्न, आवास गृहमा भएका कानूनविपरीतका कार्यलाई अनुसन्धानको दायरामा ल्याउन, विद्यालयमा बाल संरक्षण संयन्त्र निर्माण गर्न आवश्यक रहेको औंल्याएको छ । राईले सञ्चालन गरेको विद्यालयमा अहिले पनि १०१ जना बालबालिका रहेको र प्रहरीले मदन राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर