रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद्को सिफारिस

सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई आममाफी दिन सिफारिस गर्ने निर्णय गरेको हो।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरी हत्याकाण्डको मुख्य योजनाकारका रूपमा कैद भुक्तान गरिरहेका छन्।

‘केही समयअघि सर्वोच्च अदालतले पनि उच्च अदालतले गरेको रेशमजीको सजाय सदर गरिसकेको छ’, सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले भनिन्, ‘उहाँले ५० प्रतिशत सजाय कटाइसकेकाले बाँकी सजाय माफी मिनाहाको निर्णय भएको हो। अन्य केही कैदीको पनि सजाय माफी मिनाहाको निर्णय भएको छ।’

यसअघि जेठ १२ गते राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफीका लागि पठाइएको फाइल कार्यार्थ गृह मन्त्रालयमा पठाइदिएका थिए।

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल उनले रायसुझावसहित गृह मन्त्रालयमा पठाइदिएका हुन्।

‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानून, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानूनबमोजिम गर्न’ भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको थियो।

त्यसबेला टीकापुरमा हत्या गरिएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदाले दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्याथ पठाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर